चीनमा बसन्त चाडको रौनक,१० दिनमा २६ करोडको सफर

चीनमा बसन्त चाडको रौनक,१० दिनमा २६ करोडको सफर

विश्वमा कोरोना महामारीको प्रकोप छ । दुई वर्षअघि चीनबाट फैलिएको भनिएको कोरोनाको असर स्वयम चीनमा अत्यन्त न्यून छ । आगामी मंगलबारदेखि शुरु हुने चीनको परम्परागत नयाँ वर्ष तथा बसन्त चाडको रौनक चीनभर देखिन्छ ।

विशेषगरी टाढा गएका आफन्त र नातेदार घरमा पुगेर पारिवारिक पुनर्मिलनका साथ मनाइने उक्त पर्वमा चीनको एउटा शहरबाट अर्को शहर वा गाउँसम्म जानेहरुको लर्को देख्न सकिन्छ । हवाइजहाज,रेल, बुलेट ट्रेन,बस जताततै यात्रुको भीड हुन थालेको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार पछिल्ला १० दिनमा आफ्नो घर हिँडेका चिनियाँको संख्या २६ करोड नाघेको छ । यो संख्या अघिल्लो वर्षको सोही समयको भन्दा ४६ प्रतिशतले बढी हो । यसबीच चीनमा रेल र बसको ट्रिप भ्याइनभ्याइ छ । त्यसैगरी जलयात्रा र हवाई उडानमा पनि त्यत्तिकै चाप छ ।

बसन्त चाडको अवसरमा चिनियाँहरु आवतजावत गर्ने क्रम जनवरी ३० सम्म बढी हुनेछ । त्यसपछि घरबाट फर्कनेहरुको भीड फेब्रुअरी ५ देखि ८ र फेब्रुअरी १६ देखि १७ मा बढी हुने त्यहाँको यातायात मन्त्रालयले बताएको छ ।

टिप्पणीहरू