मर्यादाक्रमले ११ औं मरणासन्न
सिंगो मन्त्रालयको जम्मा एउटा काम छ, त्यो पनि गर्दिनँ भन्दा सुख पाउने ठाउँ छैन । मुलुककै सर्वोच्च राष्ट्रपति परमाधिपति रहने निकाय नेपाली सेनाको सम्पर्क मन्त्रालय रक्षाका निरीहता अनेकन छन् ।
सेनाले ल्याएका फाइल बदर गर्ने हैसियत मन्त्री र सचिवले राख्दैनन् । किनभने, केहीबाहेकका सबै अधिकार मन्त्रिपरिषद्सँग छ । त्यसमाथि मर्यादाक्रममा प्रधानसेनापति मन्त्रालयका सचिवभन्दा माथि हुन्छन् ।
०७४ सालमा पारित नेपालको मर्यादाक्रमअनुसार नवौँ नम्बरका प्रधानसेनापतिलाई ११ औँ नम्बरमा पर्ने सचिवले चाहेर पनि जिस्क्याउने ठाउँ हुँदैन । फेरि सेना अरु सुरक्षा निकायजस्तो होइन । जस्तो कि, प्रहरी, सशस्त्र र अनुसन्धानका प्रमुखहरु मर्यादाक्रमको १२ औँ नम्बरमा हुन्छन् । सेनाका हकमा चाहिँ यो मर्यादाक्रम त्यहाँका रथीले पाएका हुन्छन् । त्यसैले प्रहरी र सशस्त्रका महानिरीक्षकले अरु सचिवलाई नपरे पनि विभागीय सचिव (गृह) लाई जय नेपालको सलामी ठोक्नैपर्छ ।
त्यसैले सलामी खाने सचिवले तिनका फाइललाई अदलबदल गर्नेसम्मको अधिकार राख्छन् । रक्षामा न प्रधानसेनापतिले सचिवलाई सलाम गर्नुपर्छ, न सचिवले उनले ल्याएका फाइललाई ‘यस्तो–उस्तो’ भन्नै सक्छन् । तर, यसका बाबजुद पनि सचिवलाई खुशी पार्ने खेलो भने चलिरहन्छ ।
त्यसका लागि रक्षाका हाकिमलाई विदेश लैजाने, पत्नीका लागि समेत गाडी दिने, घरमा कामदार पठाइदिनेजस्ता काम हुने गरेका छन् । कतिपय रक्षा सचिव र मन्त्रीलाई त सेनाले घरसम्म बनाइदिएको इतिहास छ ।
पूर्वसचिव रेश्मीराज पाण्डेको पालामा हो, उनले केही पनि सुविधा नरुचाएको । तर, हाल निर्वाचन आयुक्त रहेका ईश्वरी पौडेल रक्षा सचिव हुँदा सेनाको नक्कली शैक्षिक प्रमाणपत्रको छानबिन गर्दागर्दै नातापाताकालाई युएनमा पठाउने काम भयो ।
कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्रीबाट राजीनामा दिएका डा.मीनेन्द्र रिजालले २–३ वटा ब्रिफिङबाहेक केही गर्न पाएनन् । सलामी खान जाँदै उनी पार्टी महाधिवेशनको चटारोमा थिए । चुनाव हारेपछि त राजीनामा नै दिइहाले ।
रक्षामा सेनाको शक्ति हेर्न टाढा जानुपर्दैन, ईश्वर पोखरेलको स्थिति बुझे पुग्छ । फाष्टट्रयाकसहित सेनाका विभिन्न ठेक्कामा आसेपासेले रुचि देखाउन थालेपछि उनी मन्त्रालयबाट हटाइए, बिनाविभागीय भएर प्रधानमन्त्री कार्यालय सर्नुप¥यो । बादललाई त रुक्मांगद कटवालले ब्यारेक छिर्नै दिएनन् । सचिव विष्णु लम्सालले मन्त्रालयमा केही सुधारका काम र सेनाका गतिविधि कस्नका लागि विभिन्न योजना बनाए ।
तर, त्यसो गरेबापत यसरी हटाइए कि उनीपछि गएका सचिवहरु सुधारका काम गर्न खोज्यो कि उनैलाई सम्झिएर थर्थर काम्ने स्थितिमा पुगे । त्यहाँ करिव ३० जना श्रेणीविहीनसहित जम्मा ८३ कर्मचारीको दरबन्दी छ । ती पनि धेरै भएका छन् ।
किनभने, सेनाको फाइल राख्ने र मन्त्रिपरिषद्मा पठाउनेबाहेक अरु कुनै प्रशासनिक काम छैन । न मन्त्रालयमातहत अरु कुनै विभाग, निकाय र शाखा नै छन् । हेरे त्यही सेना, नहेरे पनि त्यही सेना । अनि, सेनाका धेरैजसो काम सैनिक नियमावलीअनुसार हुन्छ, निजामतीका कुनै नियम–कानुन आकर्षित हुँदैनन् ।
बहालवाला जर्नेलले जतिसुकै अनुशासन तोडे पनि बर्खास्त गरे, कोर्टमार्शल लगाए भयो । भूपू भएपछि कुनै अभियोग लाग्यो भने अख्तियार जानुपर्छ । तर, पदमा छँदाका कर्मकाण्डमा अख्तियार आकर्षित हुँदैन ।
राजेन्द्र क्षत्री अवकास भएपछि उनीबारे उठेका प्रश्न र आर्थिक घोटाला अख्तियारबाट छानविन गराउने सुरसार थियो । तर, त्यो परम्परा बसाल्यो भने भोलि सबै सेकिन्छन् भनेर जंगी अड्डामै सामसुम पारियो । अहिले पनि कुरा उही हो ।
टिप्पणीहरू