नेपालले अघिल्ला गल्ति सच्याउन खेल्ने

नेपालले अघिल्ला गल्ति सच्याउन खेल्ने

नेपाल र मौरिसस पहिलो पटक एक अर्काविरुद्ध खेल्दैछन् । दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौँ आइपुगेको मौरिसस र नेपाल साँझ पौने ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रतिष्पर्धा गर्दा दुबै टिम जितको खोजीमा हुनेछन् । नेपाल पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्दा मौरिसस भने अढाई बर्षपछि मैदानमा उत्रँदै छ ।

मौरिससको टोलीले जम्मा ४५ दिन अभ्यास गरेर नेपालविरुद्ध मैदान उत्रन लाग्दा घरेलु टोली नेपाल भने लिगका खेलमा ब्यस्त छ । २८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो र फाइनलमा भारतसँग पराजित भएको थियो । भारतसँग पराजय भोगेपछि नेपाल पहिलोपटक भोली मैदान उत्रँदै छ ।

नेपालले दुई खेलका लागि दुई फरक टोली तयार पारेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहिलो पटक नौ खेलाडीलाई टोलीमा समावेश गर्दै ३४ खेलाडीनै दुई टोलीमा बाढेका हुन् । १२ खेलाडीले भने दुवै टोलीमा स्थान बनाएका छन् ।

मौरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोईसले पहिलो पटक नेपालसँग खेल्न लागेको प्रतिक्रिया दिँदै आफूहरूले अढाई वर्षपछि मैदान उत्रन लागेको बताए ।

‘हामी पहिलोपटक यहाँ आएका हौं । नेपाल धेरै राम्रो टिम हो भन्ने हामीलाई थाहा छ,’ उनले भने, ‘हाम्रो राष्ट्रिय टोलीले नखेलेको अढाई वर्ष भयो । डिसेम्बरमा ट्रेनिङ सुरु गरेका हौं । ४५ दिनमात्र अभ्यास गरेका छौं ।’

यस्तै प्रशिक्षक टोनीले नेपालविरुद्ध आफूहरूलाई खेल्न सजिलो नहुने र राम्रो प्रतिस्पर्धा दिने बताए । ‘हामीलाई नेपालविरुद्ध खेल्न सजिलो हुने छैन । आशा छ, हामीले राम्रो प्रतिस्पर्धा गर्नेछौं,’ टोनीले भने ।

यता, मौरिससका कप्तान केभिन ओब्राइनले नेपाल राम्रो टोली रहेको र आफूले राम्रो प्रतिस्पर्धा दिने बताए । ‘नेपाल राम्रो टिम हो । हामी जित्नको लागि खेल्छौं,’ उनले भने ।

नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी भने पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा उपस्थित भएनन् । उनको स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) उपस्थित भए । प्रशिक्षक किरणले नेपाल मैत्रीपूर्ण खेलका लागि तयार भएको र अघिल्ला गल्ती सुधार गर्दै खेल्ने बताए ।

‘पहिलो खेलका लागि हामीले सबै तयारी गरेका छौं । पहिला गरेको गल्तीलाई सुधार गरेर राम्रो प्रदर्शन गर्ने आस गरेका छौं,’ पोखरा निवासी श्रेष्ठले भने ।

उनले मौरिसससँगको खेल एसियन कप छनोटको तयारीको लागि हेरिएको र यस टोलीबाट नयाँ खेलाडी निस्किए राष्ट्रिय टोली झनै बलियो हुने विश्वास व्यक्त गरे ।

नेपाली टोलीका कप्तान किरण इतिहासमै पहिलो पटक अफ्रिकी टिमसँग खेल्न लागेको र फरक अनुभव हुने बताउँछन् । ‘इतिहासमै पहिलोपटक अफ्रिकी टिमसँग खेल्न लागेको छौं । फरक अनुभव हुनेछ,’ २३ वर्षीय किरणले भने ।

किरणले आफू दुई दिनमात्रै टोलीको प्रशिक्षणमा सहभागी भएको र लिगका कारण खेलाडी शारीरिक तथा मानसिक रूपमा तयार रहेको बताए । किरण माल्दिभ्समा माजिया एससीबाट खेल्दै गर्दा नेपाल आएका हुन् ।

‘दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु । सबैले लिग खेलिरहेका छन् । त्यसैले सबै शारीरिक र मानसिक रूपमा फिट छन्,’ नेपालका लागि सर्वाधिक ७९ क्याप जितेका किरणले भने ।

टिप्पणीहरू