रडाकोको अर्को नाम प्रेस चौतारी : अध्यक्ष र महासचिवबीच जुहारी
प्रेस चौतारी नेपालले आज दिउँसो २ बजे आयोजना गर्न लागेको कार्यक्रमलाई लिएर त्यसका अध्यक्ष र महासचिवबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । अध्यक्ष गणेश बस्नेतले महासचिव राजेश राईको घोषणा भन्दै स्टाटस लेखेपछि चौतारीभित्रको रडाको छताछुल्ल भएको हो ।
बस्नेत एक्लैको निर्णयमा आज दिउँसो स्थानीय तहको निर्वाचन सम्बन्धमा कानुनी र संवैधानिक व्यवस्थाबारे अन्तरक्रिया कार्यक्रम राखिएपछि राईले त्यस्तो कार्यक्रम सल्लाहमा गरिएको भए राम्रो हुने सुझाव दिएको बताएका छन् । तर, राईले आफूलाई राति फोन गरेर मनपरी गाली गरेको बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
महासचिवले आफूलाई गाली गरेको भन्दै बस्नेतले लेखेका छन्, ‘गणेश बस्नेत तँ एमाले र केपी ओलीको दलाल रहिछस्, म महासचिव हुँ, म त प्रचण्ड, जुगल र योगेशको खास मान्छे हुँ । तँ केपी ओली र एमालेको खास मान्छे रहिछस् । अब मलाई केही नभन्नु, म प्रेस चौतारीको नाममा केही पनि गर्न दिन्न । म त माधव नेपालको खास मान्छे हुँ बुझिस् । माधव कमरेडले तेराे संगठन सकाउन मलाई पठाएको हो ।’
तर, बस्नेतको उक्त स्टाटसपछि केहीले लेखेका कमेन्ट्स यस्ता छन् । ज्ञानेन्द्र खड्का भन्छन्, ‘यस्ता वाहियात कुरा कम्तिमा सामाजिक सञ्जालमा नलेखौं, के लाईभन्दा देख्नेलाई लाज भइसक्यो । अझ राति त तपाईंले केही नलेख्नु ।’ एमाले केन्द्रीय सदस्य ईश्वरी जीएमले लेखेकी छन्, ‘यति होस गुमाएर बोल्ने मान्छे त लाग्दैन मलाई राजेश राई । समस्या भए बरु बसेर समाधान खोज्दा उत्तम हुन्छ । तर दुनियाँ नहसाम् है !’
‘साँझ पर्नै नहुने ! पेटमा पुग्यो कि बमिट शुरु !! जात्रा हेरम् मजा हुन्छ !!,’ भनेर गणेश पौडेलले लेखेका छन् । नवराज कट्टेलको कमेन्टसमा भनिएको छ, ‘पुनः अध्यक्ष हुनुछ गणेश बस्नेतलाई अनि नङ्गाइ खानुपर्ने राजेश राईले । सोसाईटीले सुन र घुन छुट्याएका हुन्छन् । पिउँदा पनि रक्सी नै पिउनु नि, रक्सी बनाउने कच्चापदार्थ हैन ।’
गणेश बस्नेतको उक्त स्टाटसपछि महासचिव राईले राति नै आफू अचम्भित भएको उल्लेख गरेका थिए । उनले घटनाक्रम स्पष्ट पार्दै लेखेका छन्, ‘भर्खरै हाम्रो प्रिय तथा गौरवशाली संगठनका अध्यक्ष कमरेड गणेश बस्नेतको स्टाटस पढेँ । म बढो अचम्भित भएको छु ।’
उनले घटनाक्रमको बेलिबिस्तार लगाउँदै भनेका छन्, ‘अघि १० बजेर ४ मिनेट जाँदा उहाँसँग ३ मिनेट संवाद भएको थियो । विषय थियो भोलिको कार्यक्रम । भोलि अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको कुरो फेसबुकतिर हेरेँ । म पनि महासचिव हुँ । यसो थाहा दिए हुने थियो नि अध्यक्षज्यू ।’

आफूले कार्यक्रमको विरोध नगरेको तर पूर्वजानकारी दिइएको भए कार्यक्रम प्रभावकारितामा थप योगदान गर्न सकिने आशय राखेको राईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । एउटा संस्थाको अध्यक्ष र महासचिवबीच भएको संवादलाई अन्यथा लिन नहुने उल्लेख गर्दै राईले भनेका छन्, ‘तर संवादमा हुँदै नभएको काल्पनिक कुरा लेखेर प्रिय साथीहरुको इमोसनल ब्ल्याकमेलिङ गर्नु राम्रो होइन ।’
हिजोको पार्टीभित्रको अन्तरसंघर्षमा आफू फरक कित्तामा उभिएको बारे पनि महासचिव राईले स्पष्टसँग लेखेका छन् । त्यहि विषयमा अर्कोलाई ट्याग भिराइदिँदा अध्यक्षलाई सजिलो हुने भएकाले त्यसो गरेको हुनसक्ने उनको भनाइ छ ।

राति अबेर लेखिएको अध्यक्षको स्टाटसप्रति संकेत गर्दै राईले अल्लारे प्रवृत्ति देखाउनु राम्रो नभएको र त्यो समयमा त्यस्तो स्टाटस लेख्नुको कारणपछाडि निन्द्रा वा अरु कुनै कारण (?) भनेर औंल्याएका छन् । उनले बस्नेतले सार्वजनिक खपतको निम्ति गरेको काल्पनिक इमोसनल ब्याकमेलिङले संगठनलाई माया गर्ने धेरै कर्मठ साथीहरुको भावनामा परेको चोटप्रति महासचिव राईले माफी मागेका छन् ।
टिप्पणीहरू