नेपाललाई एक दशकपछि घरेलु मैदानमा सफलता
नेपालले पहिलो मैत्रीपूर्ण फुटबलमा अफ्रिकी देश मरिससलाई हराएको छ । आज दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको हो ।
लामो समयपछि राष्ट्रिय टोलीमा कम्ब्याक गरेका विमल घर्तीमगरको गोल नै नेपालको जितमा निर्णायक सावित भयो । विमलले खेलको ५४औँ मिनेटमा गोल गरेका हुन् । अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड बक्सबाट गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो ।
प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर खेर फालेका थिए । त्यसअघि १३औं मिनेटमा सुमन लामाको प्रहार बाहिरिँदा नेपालले शुरुमै अग्रता लिने अवसर गुमाएको थियो । २६औं मिनेटमा विमल घर्तीमगरको फितलो प्रहार मोरिससका कप्तान तथा गोलकिपर केभिन जेन लुइसले सहजै नियन्त्रणमा लिएका थिए ।
३५औं मिनेटमा मोरिससका मिडफिल्डर एड्रियन फ्रान्कोइसको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अन्जनले गोलको सुनौलो मौका खेर फाले । बक्सको देब्रेभागबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।
४६औं मिनेटमा मोरिससका फर्नान्डो ज्याक्सनको भली प्रहार पोस्टमा लागेर फर्कियो उक्त रिबाउन्ड बललाई नेपालका गौतम श्रेष्ठले क्लियर गरिदिए । ७५औं मिनेटमा जगजित श्रेष्ठले दायाँ कर्नरबाट प्रहार गरेको फ्रिकिकमा अञ्जन विष्टले गरेको फ्लिक हेड माथिल्लो बारमा लागेर फर्कियो ।
७७औं मिनेटमा अन्जनले १८ यार्ड बक्सबाट गरेको प्रहार फेरी बारमा लागेर फर्कियो । रिबाउन्ड बललाई जगजित श्रेष्ठले हेडमार्फत पोस्टका दिशा दिन खोजे पनि मोरिससका गोलकिपर केभिन जेन लुइसले उत्कृष्ट बचाउ गरे ।
जगजित चार वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । सन् २०१७ मा अस्ट्रेलिया लागेको जगजित ‘ए’ डिभिजन लिग खेल्ने नेपाल आएका थिए । उनी त्रिभुवन आर्मी फुटबल क्लबबाट लिग खेलिरहेका छन् । नेपालबाट सुदीप गुरुङ र आकाश बुडामगरले डेब्यु गरे । सुदीप सुरजजिउ ठकुरीको स्थानमा र आकाश तेज तामाङको स्थानमा मैदान प्रवेश गरे । दुवै जारी सातदोबाटो यूथ क्लबका खेलाडी हुन् ।
फिफा क्यालेन्डरअनुसार सम्पन्न खेलमा नेपालले एक दशकपछि जित हात पारेको हो । नेपालले मोरिससविरुद्ध मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
टिप्पणीहरू