केपी ओलीमाथि कारवाहीको माग गर्दै सिडियोकोमा उजुरी

केपी ओलीमाथि कारवाहीको माग गर्दै सिडियोकोमा उजुरी

कोरोना संक्रमण फैलाएको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ताको तयारी गरिएको छ ।

कोभिड पोजिटिभ देखिएर पनि आफूलाई आइसोलेट नगरी सार्वजनिक कार्यक्रममा सहभागी भएर संक्रमण फैलाएको भन्दै अभिजित अधिकारी र वीरेन्द्र मडैले ओलीविरुद्ध कारवाहीको मागसहित उजुरी दर्ता गराउन लागेका हुन् । जिल्ला प्रशासन कार्यालयमा दर्ताका लागि लगिएको उजुरीमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीको माग गरिएको छ ।उजुरीकर्ताले एमालेको भातृ संगठन युवा संघले बालकोटमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर हुलहुज्जत गरी ओलीले आफूलाई कोरोनाको सामान्य संक्रमण भएको भनी भाषण गरेको र त्यसले अन्य व्यक्तिलाई संक्रमण फैलाउने कार्य गरेको जिकिर गरेका छन् ।

उजुरीमा कोरोना संक्रमित भएको जानकारी हुँदाहुँदै पनि जानिजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरुसँग सम्पर्कमा आएर संक्रमण फैलाउने कार्य संक्रामक रोग ऐन, २०२० विपरीत भएकाले सोहीबमोजिम कारवाही हुनुपर्ने माग गरिएको छ ।ओलीको उपस्थिति र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुका साथै आम जनमानसमा कोरोनाको कहर सामान्य रुघा खोकीमात्र भएको भन्ने भ्रमित अवस्था सिर्जना गर्न सक्ने भएकाले आवश्यक कारवाही नभएमा अरु संक्रमितहरुले समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी समाजमा संक्रमण बढाउन सक्ने खतरा रहेको उजुरीमा भनिएको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा ३ मा ऐन उल्लंघन गर्नेलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । ऐनले यसअन्तर्गत कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

टिप्पणीहरू