ओलीको गृहनगरममा ‘जहाँ समस्या, त्यहाँ माओवादी’

ओलीको गृहनगरममा ‘जहाँ समस्या, त्यहाँ माओवादी’

नेकपा (माओवादी केन्द्र)ले ‘जहाँ समस्या,त्यहाँ माओवादी’ अभियान शुरु गरेको छ । महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन दमक नगर समितिले एक वर्षे कार्ययोजनाअन्तर्गत यस्तो नारा ल्याएको हो ।

दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएका कारण पनि माओवादीले क्रियाशीलता बढाएको बताइन्छ ।

संगठन सुधार र जनताको समस्यालाई प्रत्यक्ष सहभागितामा समाधान गर्न यो अभियान सुरुवात गरिएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।

भने, ‘हाम्रो आधार श्रमजीवी र सर्वहारा वर्गका जनता हुन् । उनीहरूको समस्यामा हामी अघि सर्नुपर्छ । समस्याबाट भागेर पार्टी कहीँ पुग्दैन । त्यही कारण यो अभियानको सुरुवात गरेका हौं ।

जनताका साना समस्यामा साथ दिनु हाम्रो दायित्व हो । पार्टीलाई वर्गीय महत्त्व राख्ने समस्या समाधान र कार्यक्रम निर्माणमा केन्द्रित गर्नेछौं ।’

यस्तै, माओवादी केन्द्रले एक वर्षे कार्ययोजना नगर समिति बैठकबाट पारित गर्दै स्वास्थ्य, शिक्षा वा रोजगारसँग सम्बन्धित कुनै पनि सामाजिक काममा प्रत्येक वडाले परिणाम देखिने गरी नेतृत्व लिनुपर्ने वा सहयोग गर्नुपर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।

टिप्पणीहरू