टिकटके भीड बढेपछि तोरीबारीमा प्रहरी टन्न
कोरोना महामारीका बेला अधिकाँश क्षेत्रहरु बन्द रहँदा सार्वजनिक तथा पर्यटकीय क्षेत्रहरुमा भीडभाड बढेको देखिएको छ । सामाजिक सञ्जाल फेसबुक,टिकटक,युट्युब लगायतमा तस्बिर तथा भिडियोहरु सार्वजनिक गर्ने हेतुले पर्यटकीय क्षेत्रमा घुइँचो लागेको हो । यसपटक आन्तरिक पर्यटकको भीड म्याग्दीको एक तोरीबारीमा पनि लागेको छ ।
बेनी नगरपालिका–१ रत्नेचौरस्थित तोरीबारीमा फोटो खिच्ने,टिकटक, युट्युब लगायतका लागि भिडियो निर्माण गर्नेको भीड बढेको छ । सो ठाउँमा पिच सडकको दायाँ बायाँ सुन्दर तोरी बारी छ । तोरीबारीमा बनाइएका भिडियो तथा तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त स्थानमा आन्तरिक पर्यटकको घुँइचो लागेको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जानकारी दिनुभयो ।
शर्माले दैनिक सयौंको संख्यामा पर्यटकहरु तोरीबारीमा आउने गरेको र शनिवारका दिन सो ठाउँमा अत्याधिक भीड हुने गरेको जनआस्थालाई बताउनुभयो । उहाँले अहिले सो ठाउँमा अत्याधिक भीड भएको बताउँदै प्रहरी खटाइएको बताउनुभएको छ ।
‘समय समयमा प्रहरी तोरीबारीमा गस्तीका लागि जान्छन्’ शर्माले भन्नुभयो । ‘सामाजिक सञ्जालमा भिडियो बनाउन नपाउने भनेर तोरीबारीमा प्रतिबन्ध लगाइएको होइन । विभिन्न सञ्चार माध्यमहरुले तोरीबारीमा टिकटक बनाउन जिल्ला प्रशासनले प्रतिबन्ध लगायो भन्ने समाचार सम्प्रेषण गरे, त्यो गलत हो’ उहाँले थप्दै भन्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताएअनुसार टिकटक बनाउन नभई सिसिएमसीको निर्णय कार्यन्वयनमा ल्याउन प्रहरी परिचालन गर्नुपरेको हो । सर्वसाधारणको भीड अत्याधिक बढ्न थालेको र भिडियो तथा तस्बिर लिने क्रममा स्वास्थ्य मापदण्डसमेत पालना नभएकाले सो ठाउँलाई प्रतिबन्ध गर्नुपरेको उहाँको भनाई छ ।
विगत केही हप्ता यता तोरीबारीमा बढेको भीडभाड भने अहिले शान्त छ । ‘गस्तीमा जाने प्रहरीले सो क्षेत्रमा कसैलाई भिडियो तथा तस्बिर लिदैँ गरेको देखेमा फर्काइदिन्छन् । यद्यपी उक्त स्थानमा अझैपनि आन्तरिक पर्यटकहरु छिटपुट रुपमा पुग्ने गरेका छन्’ शर्माले भन्नुभयो ।
टिप्पणीहरू