रानीघाटमा रवीन्दलाई सम्झेर
– गोविन्द भट्टराई
कुनै वखत युवामाझ प्रिय रवीन्द्र अधिकारी पर्यटनमन्त्री रहेकै बखत हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएको २ वर्षपछि कालीकिनारमा अवस्थित तानसेन पाल्पाको रानीघाट (रानीमहल उपमा पाएको) दरवारमा उनलाई स्मरण गरियो ।
रवीन्द्रलाई स्मरण गर्नुपर्ने कारण वर्तमान राजनीति वा एमाले र समाजवादी कित्ता कता लाग्थे भनेर होइन बरु उनी बाँचेको भए खुशी हुने थिए भनेर हो ।
तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पंक्तिकारसँग भावुक हुँदै भनेका थिए–“ नगरपालिकाले जिम्मा लिएपछि चाहेर पनि केही गर्न सकिएको थिएन, अहिले थोरै भएपनि काम भएको छ । यतिबेला कमरेड रवीन्द्र हुनुभएको भए खुशी हुनुहुन्थ्यो भन्ने लाग्छ ।” रवीन्द्रको सम्झना उपमेयर लक्ष्मीदेवी पाठकले पनि पत्रकारहरुलाई स्वागत गर्ने क्रममा गर्नु भएको थियो ।
२०७८ पुस गते तानसेन नगरपालिकाको १० औँ नगरसभा सम्पन्न गरेलगत्तै मेयर, उपमेयरलगायत जनप्रतिनिधि, कर्मचारीसहितको उपस्थितिमा बेलुकीपख कालीगण्डकीतीरमा अवस्थित रानीघाट दरवारमा पाल्पाली पत्रकारहरुले विभिन्न कोणबाट तस्बिर लिइरहेको देखियो ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा पाल्पा शाखाका पूर्व अध्यक्ष झपेन्द्र गहिरेले भने–“तानसेन नगरपालिकाका १० उत्कृष्ट काममध्ये रानीघाट दरवारमा मिनी संग्रहालय स्थापनासहित सौन्दर्यकरण गरिएको काम १ हो ।”
स्थानीय तथा राष्ट्रिय विभिन्न सञ्चारमाध्यमले तानसेन नगरपालिकाले जिम्मा लिएर पनि रानीघाट दरबार सरसफाइ र सौन्दर्यकरणका केही काम भएन भनी आलोचना भइरहेको अवस्थामा नगरप्रमुख शाहीले प्रस्ताव गरेअनुसार कार्यपालिका बैठकबाट निर्णय गराएर सरसफाइ शाखाका प्रमुख शंकर भण्डारीको कमाण्डमा खटेको कर्मचारीको टोलीले करीव २ महिनामा सौन्दर्यकरणको काम गरेको हो ।
नगरप्रमुख शाहीका अनुसार ३०–३५ लाख लागतमा काम भई रेखदेखको काममा तत्काल नगरपालिकाले कर्मचारी खटाएको छ । रानीघाट दरवारमा वरिष्ठ कलाकार अशोकमान सिंले तयार पारेको जनरल खड्गसमशेर र रानी तेजुकमारीको पूर्ण कदको तस्विरको नगरप्रमुख शाहीले अनावरण गरे भने पत्रकारहरुलाई साक्षी राखेर तत्कालीन समयका १६६ थान संकलित सामग्रीसहितको मिनी संग्रहालय र विद्युतीय फोहरासमेतको शुभारम्भसंगै उपस्थित सबै खुशीले नाचेका थिए ।
गरे हुँदो रहेछ भन्ने कुरा अशोककुमार शाहीको सोच र तानसेन नगरपालिकाको कामले देखाएको छ । शाहीले दरवारको भवन तानसेन नगरपालिकामा र आँगन बगनासकालीमा हुनाले उक्त पालिकासँग समन्वय गरेर रानीघाट क्षेत्रको विकास गर्ने बताएअनुसार छिमेकी पालिका बगनासकालीसँग समेत बैठक राखेर कार्यदल गठन गरिएको बताए ।
उपमेयर लक्ष्मीदेवी पाठक संयोजक, बगनासकालीकी उपाध्यक्ष सरस्वती चिदी उपसंयोजक, दुवै पालिकाका प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृतलगायत रहेको कार्यदलले काम शुरु गरेको छ ।
माघको पहिलो हप्ता अधिकाँश मिडियाले तानसेन नगरपालिकाले रानीघाट दरबारलाई सौन्दर्यकरण गरेर चिटिक्क पारेको समाचार सामग्री प्रकाशन, प्रशारण गरेका थिए । यी सबै देख्न पाएको भए कमरेड रवीन्द्र अधिकारी तानसेनका मेयर शाहीले भने झैँ साँच्चै खुशी हुने थिए कि ?
टिप्पणीहरू