सिडिओको उर्दी,शिवमको फूर्ति
हेटौंडा उपमहानगरपालिका-१६ स्थित शिवम सिमेन्टको ज्यादतिविरुध्द स्थानीयले पटक पटक आवज उठाउँदासमेत अटेर गरेपछि आज उनीहरुले आफ्नो जग्गामा पर्खाल लगाएका छन् । शिवम सिमेन्ट लिमिटेडले व्यक्तिको जग्गा अतिक्रमण गरी आफ्नो सहजताको लागि प्रयोग गरेपछि विवाद बढेको हो ।
उपमहानगरपालिकाको १६ नम्बर वडा कार्यालयले पटक पटक व्यक्तिको जग्गा कब्जा नगर्न शिवमलाई पत्राचार गर्दासमेत कम्पनीले स्थानीय सरकारलाई नटेरेको हो । आफ्नो आग्रहलाई अटेर गरेपछि वडाध्यक्ष रामकृष्ण कोइरालाले सिडिओ कार्यालयलाई पत्राचार गरी सहजिकरणको निम्ति अनुरोध गर्नुभएको हो ।
वडा कार्यालयको अनुरोधपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सिमेन्ट कम्पनीका प्रतिनिधि विष्णु घिमिरे र जग्गाधनी कोपिला राई तथा सोमबहादुर राईलाई बोलाएर छलफल गर्नुभएको थियो । वडाध्यक्षको रोहवरमा भएको छलफलमा शिवमका प्रतिनिधिले एक महिनाभित्र पीडितको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।
जग्गाधनीको जग्गामा रहेको हाइटेन्सन लाइन हटाउन प्रक्रिया शुरु गर्नेलगायतका प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी र वडाध्यक्षको रोहवरमा व्यक्त गरेको एक महिना बित्दासमेत पूरा नगरेपछि समस्या चर्किएको हो । शिवम सिमेन्टले व्यक्तिको जग्गा अतिक्रमण गर्न नछाडेपछि जग्गाधनी कोपिला राईले आफ्नो जग्गामा पर्खाल लगाउने काम गरेको बताएकी छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेको रोहवरमा गरिएको सहमतिसमेत अटेर गर्ने शिवमको हेपाहापनले नागरिक आजित भएका हुन् ।
विगतमा स्थानीयले आफ्नो जग्गामा लगाएको पर्खाल शिवम सिमेन्टले भत्काउँदै आएको स्थानीयको गुनासो छ । प्रमुख जिल्ला अधिकारी पाण्डेको निर्देशनलाई समेत बेवास्ता गर्ने शिवमको दादागिरी कहिलेसम्म ? भन्न थालिएको छ । व्यक्तिको निजी जग्गा कब्जा गर्ने सिमेन्ट कम्पनीले धेरै सार्वजनिक जग्गा अतिक्रमण गरेकाले स्थानीयले सार्वजनिक जग्गा अतिक्रमणविरुध्द कानुनी उपचार खोज्ने भएका हुन् ।
व्यापारिक प्रयोजनको निम्ति गरिएको स्थानीयको अतिक्रमित जग्गा र ती क्षेत्रका पीडितको विवरण उतारेर अतिक्रमणविरुद्ध शिवम सिमेन्टमाथि दबाब दिने स्थानीयले बताएका छन् । सिमेन्ट कम्पनीले बिना अनुमति प्रयोग गर्दै आएको सार्वजनिक जग्गा पनि तत्काल खाली गर्न सरोकारवाला निकायलाई थप दबाब दिने कार्यक्रम रहेको सोम राईले बताए ।
टिप्पणीहरू