ओरालो लाग्दै कोरोना
अन्यत्रझैं महोत्तरीमा पनि कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको छ । पीसीआर र एन्टिजेन परीक्षण गर्दा कुल तीन प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको हो ।
जिल्लामा कोरोना माहामारीको तेस्रो लहर सुरु भएपछि २ सय ४० जना संक्रमित थपिएका छन् ।
हिजो २० जनामा पीसीआर परीक्षण गर्दा जम्मा तीन जनामा र एन्टिजेन प्रविधिबाट ८७ जनामा परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा दोस्रो र तेस्रो लहरमा तीन हजार ३ सय २६ जना संक्रमित बनेका छन् । तीमध्ये ८५ जनाले ज्यान गुमाए भने २ सय ४० जना अझै होम आइसोलेसनमा छन । तीन हजार छ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् ।
जिल्लामा अहिले तीनवटा कोभिड अस्पताल, ६५ वटा बेड, ३४ वटा एचडीयु, नौवटा आईसीयू र दुईवटा भेन्टिलेटर उपलब्ध छन् । जनशक्ति अभावमा भेन्टिलेटर सञ्चालनमा ल्याइएको छैन ।
यसबीचमा खोप अभियानलाई तीव्र बनाइएको छ । विद्यार्थीलाई लक्षित गरी ७४ हजार डोज मोडर्ना खोप लगाउने तयारी गरिँदै छ भने दैनिक १ सय ५० जनाभन्दा बढी सर्वसाधारणले पहिलो र दोश्रो डोज खोप लगाइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हिजोबाटर बुस्टर डोजसमेत प्रदान गरिएको छ । हिजो २ सय ६४ जनाले बुस्टर डोज लगाएका थिए ।
टिप्पणीहरू