बलत्कारका दुई मुद्धामा जिल्लाको फैसला उच्चले उल्टायो
बलात्कारका दुई मुद्दामा जिल्ला अदालतले गरेका फैसला उच्च अदालतले उल्टाई दिएको छ । कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाई दिएको हो ।
पीडित एक महिलाले हालेको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले राजु बोहरा प्रतिवादीलाई सफाइ दिएको थियो ।
घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याएर जबरर्जस्ती करणीसमेत गरेको भन्ने आरोपको ठोस प्रमाण नभएको र त्यसलाई पुष्टि गर्ने आधार पनि नभएको भन्दै विसं २०७७ असार १५ गते प्रतिवादीले सफाइ पाएका थिए ।
तर, उच्च अदालतले सो फैसला उल्टाउँदै प्रतिवादी बोहरालाई १२ वर्ष कैदका साथै पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ ।
उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको संयुक्त इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३) (घ) बमोजिम उक्त फैसला गरेको हो ।
त्यस्तै, अर्को एक बलात्कारको मुद्दामा कैलालीको जिल्ला अदालतले अभियोगीलाई एक वर्ष पाँच महिना कैद र पन्ध्र हजार रुपैयाँ जरिवानाका साथै २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउनु पर्ने गरी गरेको फैसला पनि उक्त उच्च अदालतले उल्टाइ दिएको छ । सो मुद्दामा अभियोगीलाई बीस वर्ष कैद गर्नाका साथै पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
आफ्नै सौतेलो बाबुले सात वर्षकी नाबालिकालाई घरमा कोही नभएका बेला बारम्बार जबरर्जस्ती करणी र हाडनाता करणी गर्ने गरेको भन्ने जाहेरीमा जिल्ला अदालतले हाडनाता करणीमा जिकिर नपुग्ने भन्दै जबरर्जस्ती करणीतर्फ मात्रै मुलुकी अपराधसंहिता, २०७४ को दफा २२५ ३ बमोजिम एक वर्ष पाँच महिना कैद गर्नुपर्ने आदेश दिएको थियो ।
आइतबार उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश कुँवर र न्यायाधीश थापाको संयुक्त इजलासले मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ ३ क बमोजिम बीस वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने गरी फैसला गरेको थियो ।
टिप्पणीहरू