व्यापारीका नेताहरू कोरोना छल्न दुबईतिर जन्त जाँदै

व्यापारीका नेताहरू कोरोना छल्न दुबईतिर जन्त जाँदै

दुई वर्षदेखि मुलुकमात्र होइन,विश्व नै कोरोना महामारीको चपेटामा छ । एक महिनादेखि सर्वत्र नयाँ भेरिएन्ट ओमिक्रोनको बिगबिगी छ । सरकारले यतिखेर संक्रमण रोकथामको निम्ति राजधानीमा गुड्ने सवारी साधनमा जोर बिजोर लगाएको छ ।

तर,मुलुकका धनाढ्य व्यवसायीहरुको नेतृत्वदायी संस्था उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले यसबीच कोरोना छल्न भन्दै संयुक्त अरब इमिरेट्सको दुबईबाट छोराको बिहे गर्न लागेका छन् । नेपाली बेहुलीका परिवारसमेत उतै गएर भव्य विवाह गर्न लागिएको स्रोतले बताएको छ ।

यता २५ जनासम्मको सरकारी बन्देज भएकाले रमझमका साथ विवाह गर्न दुबईमा सबै तयारी थालिएको हो । आगामी साता माघ २६ गते घर गाउँले र विशेष निम्तालुसमेत गरेर झण्डै दुई सय जना काठमाडौंबाट दुबई जानको लागि हवाइजहाजको व्यवस्था गरिएको छ । त्यसमा महासंघका पूर्वअध्यक्षहरु,वर्तमान पदाधिकारी तथा अन्य गन्यमान्य रहेको बताइन्छ ।

मुलुकलाई अप्ठेरो पर्दा उदाहरणीय बनेर देखाउनुपर्ने व्यापारी र व्यवसायीहरुले महामारीवीच विदेश गएर छोराको विवाह गर्न खोजेको सन्दर्भलाई आश्चर्यजनक रूपमा लिइएको छ ।

“शेखरले छोराको बिबाह गर्न पाउँछन्,त्यसमा कसैको चासो विषय हुनुहुँदैन । तर त्यत्रो धेरै विदेशी मुद्रा उनले दुबईमा कहाँबाट लगेर तिर्ने हुन् ? बैंकिङ च्यानलबाट तिर्छन् वा हुण्डीबाट ?

यसअघि उनै गोल्छाले भतिजीको विवाहसमेत पहिले विदेशबाट गर्न खोजेका थिए । तर अहिले स्वयम् महामारी र देशभित्र आर्थिक अवस्था लथालिङ्ग भएको मौकामा आफ्नै छोराको विवाह दुबईबाट गर्न खोज्नु अचम्म भएको अरु व्यवसायीले बताएका छन् ।

दुलाहाका बाबु शेखरले मात्रै १० देखि १५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेका छन् भनिएको छ । विमान खर्च,होटल खर्च र विवाह खर्चमा सबैभन्दा धेरै खर्च हुने अनुमान गरिएको छ ।

बेहुली पक्षको खर्चको पाटो भने बाँकी नै छ । त्यतातर्फ पनि उस्तै खर्च हुने भएकाले नेपालबाट त्यहाँ गएर एक सातामा कम्तीमा ३० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गर्ने उद्देश्य राखिएको स्रोतले बताएको छ ।

बेहुली चाहिँ झापास्थित गिरीबन्धु टिस्टेटका गिरी दाजुभाइहरुमध्ये कुनै एक जनाकी छोरी हुन् । उनीहरु पनि सपरिवार दुबई जाने तयारीमा छन् । गिरीबन्धु टिस्टेट त्यही समूह हो जसले झापाको चिया बगान मासेर घडेरी प्लटिङ तथा बिक्रीको लागि सरकारसँग आवश्यक पहल गरिरहेको छ ।

शेखरले छोराको बिबाह गर्न पाउँछन्, त्यसमा कसैको चासाेको विषय हुनुहुँदैन । तर त्यत्रो धेरै विदेशी मुद्रा उनले दुबईमा कहाँबाट लगेर तिर्नेछन् ? बैंकिङ च्यानलबाट तिर्छन् वा हुण्डीबाट त्यो भने हेर्न बाँकी छ । रेमिट्यान्स औपचारिक माध्यमबाट मुलुकमा नभित्रिएको सन्दर्भलाई पनि यो बिबाहसँग जोडेर हेरिएको छ ।

अहिलेको विषम परिस्थितिमा पनि विदेशमा गएर छोराको विवाह गराउन चाहने व्यवसायीले मुलुकमा यो भएन र त्यो भएन भन्ने अधिकार उठाउँदा अब कसले पत्याउने ? मौका पर्दा राजनीतिज्ञहरुले छोराछोरीलाई विदेशमा पढाए भनेर डंका पिट्नेमा यिनै व्यवसायीहरु रहेको एक जना अर्थशास्त्रीले बताए । उनले भने, ‘महामारीमा करोडौं खर्चेर विदेशमा विवाह गर्न लागेको अवस्थालाई के भन्ने ?’

शेखरको व्यापारमा अर्को साता बिबाह हुन लागेका छोराले पनि ध्यान दिन थालेका छन् । गोल्छा समूह नेपालमा सामसुङ होम अप्लाइन्सेसको डिष्ट्रिब्युटर हो । उक्त समूहले मोबाइल फोनको समेत ब्यापार गर्दै आएको छ ।

भारतीय पल्सर मोटरसाइकलको नेपालका लागि डिष्ट्रिब्युटरका साथै गोल्छा समूहले नेपालमै उक्त मोटरसाइकल पनि एसेम्बल्ड गर्न थालेको छ ।

यता हालैमात्र उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गरेर गैरकानुनी ढंगले डाँडा उत्खनन् गरेका केही सिमेन्ट व्यवसायीको अन्ध समर्थन गरेका छन् । उनीहरुले राज्यले गलत तरिकाले व्यवसायीहरुमाथि अभियोग लगाएकोसमेत भन्न भ्याएका छन् ।

महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकालगायतमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि दूधको साक्षी बनेका तिनै महासंघ,परिसंघ र कमर्सका नेतृत्वहरु महामारीमा अर्का साहुजीको छोराको बिहेमा दुबई जन्त जाने तयारी गर्नुलाई उदेक लाग्दो मानिएको छ ।

टिप्पणीहरू