एमसीसीको समर्थन गरेकोमा पार्टीभित्रै बाबुरामको बिरोध
जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद सदस्य तथा साहित्यकार मिलनकान्छा किराँतीले एमसीसीको पक्षमा उभिने राजनीतिक पार्टी र नेतालाई दलालको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्री तथा जसपाकै सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको पक्षमा बोलिरहेका बेला किराँतीको यस्तो अभिव्यक्ति आएको हो।
आज सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘साथीहरु, दलालहरुलाई चिन्नुहोस्, एमसीसीको पक्ष लिनेहरु दलालहरु हुन् । अर्को कुरा,एमसीसी र बिआरआई एउटै होइन । नो एमसीसी ।’
जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईबीच शक्तिको टकराव भइरहेका बेला किराँतीको यो अभिव्यक्तिले एमसीसी विवादले चर्को रुप लिँदै गए सो पार्टीलाई थप नोक्सान पुर्याउने संकेत गरेको छ ।
किराँती जसपामा डा. भट्टराई निकट मानिन्छन् । नयाँ शक्ति पार्टीदेखि जसपासम्म आइपुग्दा भट्टराईलाई उनको दह्रो साथ रहँदै आएको छ । तर, उनको पछिल्लो अभिव्यक्तिले उनी अध्यक्ष यादवतिर ढल्किएको कतिपयले अनुमान गरेका छन् ।
जसपा प्रवास प्रदेश पूर्व उपाध्यक्षसमेत रहेका किराँतीले नयाँ शक्तिदेखि जसपासम्म आइपुग्दा पूर्वीएसिया ईन्चार्ज,एसिया प्यासिफिक जिल्ला संयोजक, प्रवास हेडक्वार्टरलगायत पार्टीको विभिन्न तह र मोर्चा सम्हालिसकेका छन् ।
उनको संयोजकत्वमा तीन सदस्यीय जसपा प्रवासले एमसीसी कार्यदल गठन गरेर पार्टीलाई प्रतिवेदनसमेत बुझाएको थियो । उक्त प्रतिवेदनमा एमसीसीको सात सकारात्मक पक्ष आठ नकारात्मक पक्षसहित पाँच सुझाव दिईएको थियो ।
एमसीसी होस् वा बिआरआई, ऋण होस् अथवा अनुदान राष्ट्रलाई हानी हुनेगरी सर्त मानेर लिन नहुने र संसदबाट पास गर्ने कुरा त झन खतरायुक्त भएकोले एमसीसीका विरोधमा आम नागरिक उठ्न ढिला गर्न नहुने किराँतीले बताएका छन् ।
टिप्पणीहरू