भ्रष्ट न्यायाधीशलाई डाँडा कटाइयो

भ्रष्ट न्यायाधीशलाई डाँडा कटाइयो

आठ जनाको हत्या गरेको,एक जनालाई ज्यान मार्ने उद्योग गरेको र दुई वटा डाँका चोरीका आरोपी नसिम खानविरुध्दको मुद्दामा राम्रै लेनदेन गरेको आरोप लागेका नेपाल-भारत सिमानाको कपिलवस्तु जिल्लाका दुई नम्बर न्यायाधीश आजै जुम्ला लखेटिएका छन् ।

माघको जाडोमा तातो कपिलवस्तु जिल्ला अदालतबाट माइनस तापक्रम रहेको जुम्ला पुगेका न्यायाधीश जवाहरप्रसाद सिंह हुन् ।लुम्बिनी प्रदेशभित्र चासोका साथ हेरिएको उक्त मुद्दालाई न्यायाधीश सिंहले अचम्मसँग उल्टाइदिएपछि सबै छक्क परेका थिए ।

पुस २५ गतदेखि जिल्ला अदालतको २ नम्बर इजलासमा बहस शुरु भएको उक्त मुद्दा न्यायाधीश जवाहरप्रसाद सिंहले भोलिपल्ट राति ९ बजे फैसला गरेर ५० लाखको झोलासहित सरकारी गाडी चढेर पर्सिपल्ट काठमाण्डौ,गोठाटारतिर लागेका थिए ।

जबकि अघिल्लो दिन बिहानदेखि अदालत परिसरभित्र र बाहिर फैसला प्रभावित पार्ने र प्रभावित पार्न नदिने समूहको उल्लेख्य उपस्थिति देखिएको थियो । २ बालबालिका,४ माओवादी कार्यकर्ता र १ कर्मचारीको हत्या गरेको आरोप लागेका नसिमलाई दुई वर्षअघि प्रहरीको सिआइबीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

“२ नम्बर न्यायाधीश जवाहर सिंह त्यो दिन ४ नम्बरका न्यायाधीश वसन्तजङ्ग थापालाई समेत छकाएर पचास लाखको कालो झोला डिकीमा हालेर हिँडेका थिए ।”

आज उनै न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले सरुवा गर्नुभएको हो । उनलाई जुम्ला पठाएपछि त्यहाँका न्यायाधीश शिवप्रसाद खनाललाई कपिलवस्तु जिल्ला अदालतमा सारिएको छ ।

एक अर्को प्रकरणमा ज्यान मार्ने उध्योगका सावित अर्का अभियुक्तलाई पनि हाकाहाकी पचासौं लाख बुझेर सफाइ दिएकाले सिंहको गतिविधि थप आलोचित भएको हो ।

त्यसअघि पनि उनले यस्तै घप्लाबाजी गरेको जाहेरवालाहरुले बताएका छन् । सिंहको अत्याचारको बारेमा सरुवा मात्रै नभई न्यायपरिषद्मा समेत उजुर हाल्ने तयारी गरिएको छ ।

पुस २६ गते राति बुझेको पैसा लिएर उनी पर्सिपल्ट काठमाडौं हिँडेका थिए । उनलाई त्यस दिन प्रहरीले आशंकामा गाडी चेक गर्न खोजेको थियो । सरकारी नम्बर प्लेटको गाडीमा जिल्ला न्यायाधीश चढेको भनिएपछि त्यत्तिकै छाडिएको थियो ।

जिल्ला अदालतका २ नम्बर न्यायाधीश जवाहर सिंह त्यो दिन ४ नम्बरका न्यायाधीश वसन्तजङ्ग थापालाई समेत छकाएर पचास लाखको कालो झोला डिकीमा हालेर हिँडेका थिए ।

महोत्तरीका सिंहले न्याय क्षेत्रमा बहिदारबाट जागिर शुरु गरेका हुन् । उनको न्याय क्षेत्रमा सेवा ३८ वर्ष भएको छ । ६ महिना बाँकी रहेका उनी साउन ८ गते सेवानिवृत्त हुने तालिका छ ।

उनले लाखौं रुपैयाँ उठाएको सरकारवादी मुद्दाका प्रतिवादी नसिम माओवादी सशस्त्र संर्घषका क्रममा तत्कालीन शाही सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका नाइके थिए । त्यस क्रममा थुप्रै माओवादीको हत्या गरेको आरोप छ ।

उक्त आरोपबाट बच्न उनी २०६३ साल जेठमा जनतान्त्रिक तराई मुक्ति मोर्चा नामको भूमिगत समूहमा आबद्ध भए । लगत्तै हत्या, अपहरण,लुटपाटलगायतका घटनामा संलग्न भएको अदालतमा पेश गरिएका प्रहरी प्रतिवेदनहरुमा उल्लेख छ ।

२०७२ सालमा एमालेको सदस्यता लिएका खानलाई खुशी बनाउन एमालेले उनकी श्रीमती फौजिया खानलाई २०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सभासद बनाएको थियो । सीमापारीको भारतीय भूमि प्रयोग गरेर नेपालमा आपराधिक गतिविधि गर्दै उनले चन्दा आतंक,हतियार बेचविखन,अपहरण तथा मिलेमतोमा व्यक्ति हत्या गर्नेसम्मका काम गर्न थालेको आरोप छ ।

उनले माओवादी जिल्ला सदस्य प्रेम परियार (भुवन) को २०६३ साल फागुनमा तिर्तिखीमा गोली हानी हत्या गरेका थिए । उनको समूहले २०६३ फागुन १ गते इलैचा बरईको फुलिकास्थित घरमा आक्रमण गरेर उनकी ४ वर्षकी छोरीको हत्या तथा लुटपाट गरेको जाहेरी अदालतमा छ ।

लगत्तै उनको समूहले २०६४ मंसिर २५ गते तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास कोष प्रमुख निरञ्जन पौडेलको अपहरण गर्यो । करिब चार लाख रुपैयाँ फिरौती लिएर आठ दिनपछि छाडिदिएको थियो ।

चन्दा दिन नमानेको भन्दै तत्कालीन गाविस सचिव राममिलन गुप्तालाई नसिम र उनका सहयोगी श्रवण मुराउले २०६५ साल भदौमा पिपरा गाविसमै गोली हानी हत्या गरेको अर्को आरोप पनि छ ।

नसिमको समूहले २०६६ सालमा तिर्तिखी गाविसमा माओवादी कार्यकर्ता नसिबुल्लाह मुसलमानमाथि आक्रमण गर्दा स्थानीय अकाली कोहारलाई गोली लागेपछि उनको मृत्यु भएको थियो ।

त्यसपछि फुलिकाका माओवादी अवध राज्यका नेता राजेन्द्र तिवारीलाई उनकै योजनामा २०६७ वैशाख १३ गते पिपरा गाविसमै गोली हानी हत्या गरियो ।

हत्याको श्रृंखला बढे पनि पक्राउ नपरेका उनको समूहलाई तिवारीको हत्या प्रकरणपछि प्रहरीलाई पक्राउ गर्न ठूलो दबाब परेको थियो । तत्कालीन प्रहरी प्रमुख शरद चन्दले जेलबाट भागेका श्रवण मुराउको खोजीलाई तीब्र पारेका थिए । भारतीय प्रहरीको सहयोगमा मुराउ पक्राउ परे पनि नसिम भने भाग्न सफल भए ।

नसिमको समूहले पुनः पुरुषोत्तमपुर ५ मा रहेको शिवम क्रसरका मजदुर ज्ञानबहादुर सुनारको २०६७ असार २३ गते गोली हानी हत्या गरे । सुनारको हत्या आफैंले गरेको नसिमले खुलाएका थिए । त्यसपछि भारतको चाकरचौडा क्षेत्रमा बसेर अपराधिक गतिविधि सञ्चालन गर्न थाले ।

२०७५ फागुन ४ गते मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मदको ४ वर्षे छोरो अयमानको अपहरण गरेर उनैले ८ गते हत्या गरेका थिए । हत्या गरेर बालकको शव उनकै घर अगाडि फ्याकिएको थियो । कपिलवस्तु जिल्ला अदालतले २०६७ भदौमा उनीविरुद्ध हत्याका ६ वटा मुद्दा र एउटा डाँका मुद्दामा उनको अंश रोक्का गरि मुद्दा मुल्तबीमा राखेको हो ।

खानले बनाएका हरेक हत्या योजनामा सहयोगी देखिएका श्रवण मुराउलाई अदालतले भने यसअघि नै १ सय १७ वर्षको कैद सजाय तोकेर कारागार चलान गरेको छ ।

तर राजनीतिक तथा आर्थिक चलखेलमा नसिमसहित उक्त घटनामा संलग्नहरुलाई छाड्ने प्रपञ्च मिलाउन एउटा समूह सक्रिय भएको पीडित परिवारले त्यतिबेलै आरोप लगाएको थियो ।

मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण नसिम खान र उक्त घटनामा प्रत्यक्ष संलग्नहरुलाई छाड्ने हल्ला बाहिर आएको आफूले पनि सुनेको पुस २६ गते अदालत परिसरमा बताएका थिए ।

‘हामी न्याय चाहन्छौं, सिंगो जिल्लालाई नसिमको अपराधबारे थाहा छ, प्रमाण छ,अब पनि न्याय मर्यो भने हामी पीडितको के लाग्छ ?’ उनले भनेका थिए ।

श्रीमान जवाहरको बदनियतपूर्ण फैसलावारे जनआस्थाले बिस्तृत विवरण २८ गते नै प्रकाशित गरेको थियो ।

टिप्पणीहरू