मन्दिरको थुप्रोले मात्रै मग्न हुन्छ र मन ?

मन्दिरको थुप्रोले मात्रै मग्न हुन्छ र मन ?

ऐतिहासिक भूमि अयोध्या– जहाँ राममन्दिर निर्माण कार्यले बेग्लै रौनक थपेको छ । अयोध्याले मुगल, ब्रिटिश र स्वतन्त्र भारतको राजनीतिलाई समेत प्रभावित गर्दै आएको छ । अयोध्या हिन्दूहरूको प्राचीन र सात पवित्र तीर्थस्थलमध्ये एक हो । यसलाई प्राचीनकालमा ‘कौशल देश’ भनिन्थ्यो । भारतमा हाल शासन गरिरहेको भारतीय जनता पार्टी (भाजपा) ले अयोध्याको सहारा लिएर केन्द्रसहित दर्जनौं राज्यमा ‘रामराज्य’ चलाइरहेको छ । खासगरी हिन्दू अतिवादी भाजपाको राजनीति ‘हिन्दू–मुस्लिम’मै केन्द्रित छ । विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संस्था ‘राष्ट्रिय स्वयंसेवक संघ’ भारतीय जनता पार्टीको मुख्य सारथि हो । विश्लेषकहरू भन्छन्, ‘भाजपा अस्पतालभन्दा मन्दिर नै रोज्छ ।’ उनीरूको भ्रामक सोच मन्दिरबाट शुरु भई मन्दिरमै सीमित रहेको प्रायःको दाबी छ ।

कतिपय त भाजपालाई धर्मको नाममा राजनीति गरिरहेको गम्भीर आरोप पनि लगाउँछन् । पूजापाठ गर्नका लागि मन्दिर हिँड्न बाटो, पिउनका लागि पानी–धारा, स्वास्थ्यका लागि अस्पताल र शिक्षाका लागि विद्यालय चाहिन्छ । तर, भाजपा मन्दिर देखेपछि यी सबै बिर्सिन्छ । श्रीरामको जन्मभूमि अयोध्याका स्थानीय बासिन्दा शिक्षा र स्वास्थ्यमा निकै मुनि छन् । यहाँका जनताले राम्ररी हाच्छ्युँ गर्दा पनि १३५ किमि दूरी पार गरेर लखनउ दौडिनुपर्छ । सोच्नुहोस्– गम्भीर रोगबाट ग्रसित जनताको के होला हालत रु अयोध्यामा हजारौँ सुन्दरै–सुन्दर मन्दिर बने । तर, एउटा राम्रो अस्पताल बनेन । कतिपय मन्दिर सुनको जलपले पनि सजिए तर शिक्षा–स्वास्थ्यमा भने कसैको ध्यान पुगेन ।

सरकारी अस्पतालमा राम्रो उपचार पाइँदैन । सुविधा शून्य छ । स्थानीय जनता सरकारी अस्पताल जानै मान्दैनन् । आफ्नो ज्यान जोखिममा पार्न चाहँदैनन् । स्थानीय मात्र होइन, अयोध्या आउने बाह्य पर्यटक पनि निजी लुटेराको अस्पताल पुग्न बाध्य छन् ।

उत्तर प्रदेशको धार्मिक–राजनीतिक मानसिकता मात्र होइन, स्वास्थ्य प्रणाली पनि ‘भेन्टिलेटर’मा छट्पटाइरहेको छ । एक रिपोर्टअनुसार त्यहाँको स्वास्थ्य प्रणाली अन्य राज्यको तुलनामा उन्नाइसौं नम्बरमा सूचीकृत छ । ‘रामराज्य’मा रावणको सत्ता हुँदा अयोध्या दिनदिनै डरलाग्दो बनिरहेको कांग्रेस जिल्ला अध्यक्ष अखिलेश यादवले भाजपा लक्ष्यित आरोप थुपारेका छन् । उनकाअनुसार सरकारले खटाएका सरसफाइ कर्मचारीसमेत अस्पतालमा भेटिँदैनन् । सरकारी चिकित्सक निजी क्लिनिकमा काम गर्छन् । उनीहरू सरकारी अस्पताल छिर्न फुर्सद नै पाउँदैनन् । जो झुक्किएर अस्पताल आउँछन्, तल्लो तहका कर्मचारीलाई काम लगाएर हिँड्छन् ।

भाजपा नेतृत्वको मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले अस्पतालभन्दा मन्दिर बनाउनुलाई ठूलो कर्म ठान्छ । पाँच वर्षमा शिक्षा सुधार र अस्पतालका लागि काम गर्न नसकेको आरोप छ ।

शिक्षा सुधारका लागि विद्यालयमा शिक्षक हुनुपर्छ र अस्पताल सुधार्न चिकित्सक । तर, अयोध्याको विद्यालयमा न शिक्षक छन्, न अस्पतालमा चिकित्सक, न त अयोध्यामा सुविधा सम्पन्न अस्पताल नै छन् । अयोध्या शहरमा दश हजारभन्दा बढी मन्दिर छन् । भगवान् श्रीराम जन्मेको विश्वास गरिने पुण्यभूमिमा जनताको स्वास्थ्यसँग गम्भीर खेलवाड गर्नु कत्तिको जायज हो रु बालबालिकामाथि शिक्षाको नाममा मुख्यमन्त्री योगीले गरेको झुटो मार्केटिङ कति सही छ रु आम नागरिकमा अनेक प्रश्न छन् । तर, बोल्यो कि धार्मिक समूहले आक्रमण गरिहाल्छ । हिन्दूविरोधी उपमा आइहाल्छ । बहिष्कार सूचीमा कसैलाई पर्नु छैन । अयोध्यामा ३० वर्षदेखि विकासको गति सुस्त छ ।

तर, यहाँको जनसंख्या ८ गुणाले बढेको स्थानीयवासी बताउँछन् । अयोध्या शहरमा मात्रै होइन, वरपरका क्षेत्रमा पनि उद्योग विस्तार हुनै सकेनन् । जहाँ गए पनि पूजा सामग्रीको पसल मात्रै पाइन्छ । यसबाहेक युवाको आयस्रोत शून्य छ । शिक्षित युवासँग बसाइँ सर्नुको विकल्प छैन । हरेक वर्ष हजारौं युवा अयोध्याबाट रोजगारीको खोजीतिर अन्य शहरमा पलायन हुन बाध्य छन् ।

भारतीय जनता पार्टीको नेतृत्वमा राममन्दिर निर्माण थाल्नुअघि स्थानीयले थुप्रै पीडा भोगे । भत्किएका सडक, ओभरफ्लो नाला, खोलाको फोहोर पानी आज पनि उस्तै छ । राजनीतिक रूपमा भापजाले अयोध्यामा ठूलो लगानी गरेको छ । अयोध्यालाई विश्वभर चिनाउने उसको प्रयास जारी छ । मुख्यमन्त्री योगी अयोध्याबाटै चुनाव लड्ने चर्चा थियो । तर, हिम्मत गरेनन् । र, फर्किए गोरखपुर । राममन्दिर निर्माणको चर्चाले एक तहका वर्ग निकै खुशी छन् । ती राजनीति गर्ने पात्रहरू हुन् । यो पनि सत्य हो कि– मन्दिरबाहेक उनीहरूको खुशी हुने अर्को कुनै ठाउँ नै छैन ।

सँगैको अर्को गरिखाने वर्ग त्रसित छ । मन्दिरक्षेत्र फैलाउने नाममा बाटो फराकिलो पारिँदै छ । सडक छेउछाउका भवन, पसल ध्वस्त भइरहेका छन् । जसकारण उनीहरू चिन्तित छन् । अयोध्यामा मन्दिर बन्नुपर्छ । यसो गर्दा धार्मिक रूपमा पर्यटक भरिनेछन् । तर, अयोध्या यत्ति मात्रै हो त रु यहाँ राम्रो सडक, नाला, अस्पताल, विद्यालय नभएसम्म राममन्दिरको थप आलोचना भइरहनेछ ।

टिप्पणीहरू