९० वर्षीया आमाको हत्या गर्नेको पाप धुरीबाट करायो

९० वर्षीया आमाको हत्या गर्नेको पाप धुरीबाट करायो

भनिन्छ ‘लोभले लाभ, तर लाभले विलाप,’ यही उखान चरितार्थ भएको छ मोरङको पथरी शनिश्चरे नगरपालिका–२ जयचोकका ४८ वर्षीय कमल श्रेष्ठको व्यवहारले । उनले ५ कठ्ठा जग्गा नपाएको झोंकमा आफनै ९० वर्षीया वृद्ध आमा जोगमाया श्रेष्ठको हत्या गरेर सुटुक्क जंगलको चिहानघारीमा लगेर जलाएको अपराध लुकाउन सकेनन् ।

कमल जगमायाका तीन छोरामध्ये कान्छो हुन् । जगमाया कान्छा छोरासँगै बस्दै आएकी थिइन् । तर ९० वर्षीया वृद्धा जगमाया माघ १२ गतेखि अचानक गाउँबाटै हराइन् । आफन्त र गाउँलेहरुले सुरुमा टाढाको आफन्तकोमा गएकी होलिन् भनेर खासै चासो दिएनन् । तर तीन दिन बित्दा पनि उनी फर्केर नआएपछि आफन्तले गाउँमा हुलिया दिँदै खोजबिन थाले । यता हत्या गर्ने कान्छा छोरा कमल आफैंले प्रहरीलाई ‘आमा हराइन् खोजतलास गरिदिनु परयो’ भनेर हुलियासहितको सूचना दिए ।

खोजबिनकै क्रममा गाउँलेले माघ १४ गते गाउँ नजिकैको चिहानघारीमा मान्छेको आलो हाडखोर देखेपछि शंका गर्दै प्रहरीलाई खबर गरे । प्रहरीले सोधपुछ गर्दा हाडखोर हराएकी वृद्धा जगमायाकै भएको पुष्टि भयो । त्यसपछि अनुसन्धान गर्दा अपराधको सुई कान्छा छोरा कमलतिर सोझियो । र प्रहरीले माघ १७ गते कमललाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेपछि कमलले आफूले आमाको जग्गाका लागि हत्या गरेको स्वीकार गरिसकेका छन । प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा र दुई जना दाजुलाई थाहा नदिई आफ्नो श्रींमतीको नाममा नामसारी गराएका थिए । उक्त कुराको रहस्य खुलेपछि सोही विषयमा श्रेष्ठ परिवारमा झैझगडा हुन थालेको थियो ।

सुटुक्क आमाको नाममा रहेको जग्गा भाईले एक्लौटी आफनो नाममा हड्पेको थाहा पाएपछि आमा र दाजुहरुले अंश मुद्दा दर्ता गराए । अदालतले ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरिदिएको थियो । सोही रिसको आवेगमा कमलले डाँडापारीको घाम भइसकेकी ९० वर्षीया आमाको हत्या मात्र गरेनन् सुटुक्क चिहानघारीमा लगेर लास पनि जलाइदिए । तर उनले गरेको जघन्य हत्या लुक्न सकेन र पाप धुरीबाट कराएरै छाड्यो ।

-पूजा लम्साल

टिप्पणीहरू