एमसीसीमा कांग्रेस पनि विभाजित

एमसीसीमा कांग्रेस पनि विभाजित

एमसीसी सम्झौता अनुमोदनलाई लिएर नेपाली कांग्रेसभित्र पनि विवाद देखिएको छ । एमसीसीकै कारण मुलुकमा राजनीतिक ध्रुवीकरण चर्किएका बेला काँग्रेसका एक नेताले एमसीसी पास गर्नेबारे कांग्रेसले आधिकारिक निर्णय नगरेको बताएसँगै विवाद देखिएको हो ।

बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाको जोड रहँदै आएको छ । कांग्रेस सभापतिसमेत रहनुभएका देउवालाई १६ फागुनसम्ममा परियोजना अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब रहेको बताइएको छ ।

प्रधानमन्त्री देउवा र उहाँनिकट नेताहरू कुनैपनि हालतमा एमसीसी संसद्बाट अनुमोदन गरेर अघि बढ्नुपर्ने अडानमा छन् । तर, प्रधानमन्त्रीको अडान कांग्रेसको आधिकारिक धारणा भने होइन । कांग्रेसको कुनै पनि कमिटीले यससम्बन्धमा निर्णय नगरेकाले देउवाले कांग्रेसको धारणाको प्रतिनिधित्व नगर्ने डा. शेखर कोइराला समूहका एक नेताले बताए ।

कोइराला समूहबाट सहमहामन्त्री भएका नेता जीवन परियारले एमसीसीबारे प्रधानमन्त्री देउवासहित केही नेताहरूले दिँदै आएको अभिव्यक्तिलाई पार्टीको आधिकारिक धारणाको रूपमा बुझ्न नहुने बताएका हुन् ।

‘पार्टीको आधिकारिक फोरम भनेको केन्द्रीय समिति बैठक हो । बैठक बस्नुपर्छ । बैठकले निर्णय लिनुपर्छ । अहिलेको सन्दर्भमा बैठकले एमसीसीबारे के गर्ने भन्ने निर्णय नगर्दासम्म नेताहरूले बोलेको कुरा पार्टीको आधिकारिक धारणा होइन’,सहमहामन्त्री परियारले भने ।

हुन त कांग्रेसमा एमसीसी परियोजनाबारे विरोधको स्वर सुनिएको छैन । कारण, परियोजनालाई अघि बढाउने भूमिका यसअघि देउवा नेतृत्वमै रहेको सरकारको पनि थियो । त्यही भएर परियोजना अनुमोदन गराउन प्रधानमन्त्री देउवा र उनी नेतृत्वको कांग्रेसलाई दबाब छ ।

तर, सत्ता सहयात्री दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भने यथास्थितिमा सम्झुता अनुमोदन गर्ने पक्षमा छैनन् । सम्झौताको केही प्रावधान संशोधन गर्नुपर्नेमा उनीहरुको जोड छ । गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चा त परियोजना अनुमोदन गर्नै नहुने पक्षमा छ ।

तैपनि कांग्रेस भने पार्टी केन्द्रीय समिति बैठक राखेर परियोजनाबारे आधिकारिक धारणा तय नगरी नै अनुमोदन गर्ने दिशामा अघि बढेको छ । गठबन्धनमा रहेका अन्य दलहरूमाथि पनि अनुमोदन गराउन दबाब बढाएको छ ।

टिप्पणीहरू