नक्कली बिरामी बनेर प्रहरी यसरी छिर्यो अस्पताल

नक्कली बिरामी बनेर प्रहरी यसरी छिर्यो अस्पताल

कोरोना परीक्षणको रिपोर्टमा पोजिटिभलाई नेगेटिभ बनाउने एउटा समूहलाई प्रहरीले हिजो बेलुका समातेको छ । विदेश जान चाहनेहरुका निम्ति भनेबमोजिमको रिपोर्ट बनाउने गिरोहलाई प्रहरीले भक्तपुर र काठमाडौंको तीनकुनेबाट समातेको हो ।

उनीहरुलाई भक्तपुरको नागरिक अस्पताल र तीनकुनेको कान्तिपुर अस्पतालबाट पक्राउ गरिएको हो । उनीहरु सबै हिजो साँझ पक्राउ परेका हुन् । पासपोर्ट एउटाको र फोटो अर्कै व्यक्तिको भएको त्यस्तो रिपोर्ट बनाउन सम्बन्धित व्यक्ति ल्याबमा समेत जानै नपर्ने रहस्य प्रहरीले पत्तो लगाएको छ ।

“प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले नक्कली बिरामी बनेर १५ जनाको स्वाब परीक्षण गर्न ती अस्पतालमा तीन दिनअघि अनुरोध गरेको थियो । पासपोर्ट अरुको र नाम महाशाखाको टोलीका प्रहरीको दिइएको अवस्थामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।”

प्रत्येक व्यक्तिसँग आठ हजार रुपैयाँ लिएर बनाइएको उक्त नक्कली रिपोर्ट पत्ता लगाउन प्रहरीले बिशेष योजना बनाएको थियो । नक्कली रिपोर्ट बनाइएको कान्तिपुर अस्पताल र नागरिक अस्पतालको ल्याबका सबै सामग्री पनि जफत गरिएको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले नक्कली बिरामी बनेर १५ जनाको स्वाब परीक्षण गर्न ती अस्पतालमा तीन दिनअघि अनुरोध गरेको थियो । पासपोर्ट अरुको र नाम महाशाखाको टोलीका प्रहरीको दिइएको अवस्थामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरु १५ जना कोही पनि ती अस्पतालमा नगए पनि पीसीआर रिपोर्ट नेगेटिभ प्राप्त भएको हो । प्रहरीले ८ हजारको दरले अस्पताललाई रकमसमेत दिएको थियो ।

तीन दिन झुलाएपछि अस्पतालले प्रहरीका नक्कली बिरामीलाई रिपोर्ट दिएको हो । त्यसपछि हिजो साँझ सम्बन्धित कर्मचारीलाई पक्राउ र ल्याब सामग्री जफत गरिएको बताइन्छ । पछिल्लो घटनाले पिसीआर रिपोर्ट बनाउने खेल नयाँ कमाउ धन्दा भएको तथ्य खुलेको छ ।

प्रहरीका अनुसार ती अस्पतालले वैदेशिक रोजगारमा जानेहरुका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट नेपाल सरकारले तोकेकोभन्दा अत्यधिक बढी रकम लिएको सूचनाको आधारमा प्रहरीले आवश्यक अनुसन्धान थालेको बताइन्छ । हिजो बिहान नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई उक्त अस्पतालबाट जारी भएका ८ थान नक्कली पीसीआर रिपोर्टसहित एयरपोर्ट अगाडिबाट पक्राउ गरिएको थियो ।

त्यसपछि कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्नकुमार झालाई फेला पारी नियन्त्रणमा लिइएको र पछि कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारिएको हो ।

त्यसपछि कान्तिपुर अस्पतालको ल्याबबाट कर्मचारी माधव मैनालीलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुले बनाएको पीसीआर रिपोर्ट नक्कली भएको प्रमाणित भएपछि दुबै अस्पतालका सेवा बन्द गरिएको छ ।

ती अस्पतालले केहि बिचौलियालाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामूहिक स्वाब संकलनमा प्रयोग गरेको समेत पाइएको छ ।

बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरुलाई पीसीआर रिपोर्ट बनाए वापत प्रतिव्यक्ति १० हजारसम्म असुल गरेको समेत भेटिएको छ । उनीहरुले क्युआर कोड प्रयोग गरेर नक्कली रिपोर्टलाई पनि सक्कली जस्तै बनाएको पाइएको हो ।

प्रहरीले धनुषाको विदेह नगरपालिका ४ घर भई ललितपुरको ग्वार्को बस्ने वर्ष २५ को रोशनकुमार छिट्टान र धनुषाकै छिरेश्वर नगरपालिका १ घर गौशाला बस्ने बर्ष २५ को नागेन्द्र यादवलाई पक्राउ गरेको छ । त्यसैगरी काभ्रेपलान्चोकको तेमाल गाउँपालिका ५ घर भई हाल सूर्यविनायक ५, सल्लाघारी बस्ने वर्ष २९ को माधव मैनाली र सर्लाहीको बलरा नगरपालिका घर भई कौशलटार बस्ने वर्ष २४ को नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्नकुमार झालाई पनि हिजै साँझ समातेको हो ।

रौतहट राजदेवी ४ बसतपुर घर भई दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालका पीसीआर ल्याब सञ्चालक ४० वर्षका भावेश मिश्र र पेप्सीकोला बस्ने कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक वर्ष ४० को निर्मल गिरी फरार छन् ।

टिप्पणीहरू