माधव नेपाललाई मनाउन गृहमन्त्री कोटेश्वरमा, प्रचण्ड बालुवाटार पुग्नुभो

माधव नेपाललाई मनाउन गृहमन्त्री कोटेश्वरमा, प्रचण्ड बालुवाटार पुग्नुभो

एमसीसी सम्झौताका कारण पाँच दलीय गठबन्धनमा दरार आएको भनिएका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण कोटेश्वर पुग्नुभएको छ । नेपाल निवास कोटेश्वर पुगेर गृहमन्त्री खाँणले पौने घण्टा छलफल गर्नुभएको बताइएको छ ।

संसदबाट एमसीसी अनुमोदन गर्नेबारे सत्ता गठबन्धनका प्रमुख तीन दल काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच विवाद देखिएको छ । काँग्रेस कुनै पनि हालतमा एमसीसी पास गर्नुपर्ने पक्षमा छ भने माओवादी र समाजवादी संशोधन गरेर मात्र स्वीकार गर्नुपर्ने अडानमा छन् । गठबन्धनमा सहमति जुट्न नसकेपछि पछिल्लो समय प्रधानमन्त्री देउवा एमालेको साथ लिएर एमसीसी पास गर्ने तयारीमा लागेको चर्चासमेत चलिरहेको छ ।

एमसीसीका कारण सत्ता गठबन्धनमा विवाद बढेको भनिएका बेला नेपाललाई भेट्न गृहमन्त्री कोटेश्वर पुग्नुलाई चासोका साथ हेरिएको छ । तर, अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले भने भेटमा खास विषयमाथि कुराकानी नभएको बताएका छन् । उनले भने, ‘यो नियमित भेटघाट हो । खास विषय केही थिएन ।’

यता, आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन मिति तोक्ने प्रधानमन्त्रीको तयारीप्रति पनि अध्यक्ष नेपाल सन्तुष्ट नरहेको बताइन्छ ।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्रीलाई भेटेर एमसीसी र निर्वाचनबारे छलफल गर्न उहाँ बालुवाटार जानुभएको बताइएको छ ।

टिप्पणीहरू