युट्युबरको नाम,भाकभुक गर्ने काम

युट्युबरको नाम,भाकभुक गर्ने काम

सामाखुशीस्थित एक म्यानपावर कम्पनीमा हिजो दुई समूहबीच कुटपिट भएको छ । वैदेशिक रोजगारीका लागि गएका युवाहरु समस्यामा परेकोले त्यसलाई समाधान गर्ने भन्दै पुगेका युट्युबरहरुमाथि म्यानपावरका मान्छेले नियोजित आक्रमण गरेको बताइएको छ ।

प्राप्त एक भिडियोमा म्यापावरबाट खटाइएको भनिएको समूहले युट्युबर र उनीसँगै पुगेकाको टाउको र नाक फुटाएर कुटपिट गरेको देखिन्छ ।

वैदेशिक रोजगारको सिलसिलामा गएका केही युवा विदेशमा अलपत्र परेको र उनीहरुलाई स्वदेश फिर्ता गर्न वा विदेशमै रोजगारीको व्यवस्था गर्न भन्दै हिजो युटयुबरसहितको टोली टोखा नगरपालिका–१४ स्थित ट्रिपल स्टार इम्प्लोइमेन्टमा पुगेको थियो ।

म्यानपावरको कार्यालयमा पुगेर युट्युबरले भिडियो खिच्न नदिएको भन्दै बबाल मच्चाउन थालेपछि हानाहान भएको हो । घटनामा मेचिङ नेपाल युट्युब च्यानलमा कार्यरत ३४ वर्षीय दिपेशराज पाण्डे,४२ वर्षीय हरिप्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घाइते भएका छन् । घाइतेहरुको ग्रीन सिटी अस्पतालमा उपचार गरिएको छ ।

सामूहिक झडपको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ । आज जनआस्थासँग कुराकानी गर्दै काठमाण्डौका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनावारे हालसम्म पनि उजुरी नपरेको बताउनुभयो । उहाँका अनुसार प्रहरीले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको छ ।सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो र अन्य तथ्यलाई आधार मानेर अनुसन्धान गरिरहेको र घटनामा तीन जना मात्र घाइते नभएको मैनालीको भनाइ छ । मैनालीले केही दिन अघिमात्र गृहमन्त्रालयबाट सामाजिक सञ्जालमा अनुमति बिना भिडियो सार्वजनिक गर्न नपाउने व्यवस्था सार्वजनिक भए पनि घटनाले उग्र रुप लिनुको कारण युट्युब भिडियो निर्माण पनि हुनसक्ने अनुमान गर्नुभएको छ । भिडियो सामाजिक सञ्जालमा पोष्ट भएको बिषयमा पनि प्रहरीले अनुसन्धान गर्दै छ ।

उक्त घटनामा दुबै पक्षका धेरै जना घाइते भएको हुनसक्ने अनुमान गर्दै हमला गर्ने पक्षबाट कति घाइते छन्, भन्ने बिषय नखुलेको प्रवक्ता मैनालीले जनआस्थालाई जानकारी दिनुभयो । ‘सम्भवतः आजै अर्को पक्षबाट घाइते हुनेको संख्या पनि खुल्छ’ उहाँले भन्नुभयो ।

यसैबीच उक्त कम्पनीले दुबई पठाइदिने भन्दै १२ जनाबाट जनही साढे सात लाख रुपैयाँ लिएको पनि खुलेको छ । रुद्रबहादुर राना,गणेश पराजुली,यामबहादुर गुरुङ,निरु गुरुङलगायत पाँच जना कम्पनीको सञ्चालक छन् ।

टिप्पणीहरू