अधिवेशन छाडेर चुनावमा लाग्ने एमालेको निर्णय

अधिवेशन छाडेर चुनावमा लाग्ने एमालेको निर्णय

नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । आज बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि बसेको बैठकले निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो । बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय समेत गरेको छ ।

स्थानीय निर्वाचन केन्द्रित केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने बैठकको निर्णय छ ।

बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । त्यस्तै, केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिवी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

टिप्पणीहरू