गठबन्धनका नेताहरुले एमसीसीलाई गिजोलेको एमाले उपमहासचिवको आरोप
पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी सम्झौता संसदमा पेश गर्न माग गरेका छन् । एमसीसी पास गर्ने वा नगर्ने अधिकार संसदलाई भएको भन्दै उनले छलफलमा ल्याउन माग गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आज आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक बहसमा ज्ञवालीले एमसीसी विकास परियोजना मात्रै भएकाले अनावश्यक गिजोल्नु आवश्यक नभएको पनि बताए । सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको उनको आरोप छ ।
गठबन्धनका नेताहरुले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको आरोप लगाउँदै ज्ञवालीले भने, ‘अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ । यही बेला सत्तामा रहनुभएका नेताहरु जानाजान एकखालको भू–राजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ ।’
एमसीसीबारे एमालेले विदेशीको सल्लाह लिइरहेको पनि उनले बताए । ‘त्यो विषयलाई लिएर हामी सुनिरहेका छौं, भर्चुअल मिटिङहरु भइरहेका छन् । विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन् । एउटा विकास परियोजनालाई जानाजान भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरु लागिरहनुभएको छ । सरकार क्लियर होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र, सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ,’ उनले भने ।
तथाकथित गठबन्धनका कार्यदलहरूको अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न खोजेको उनले आरोप लगाए । यसअघि तत्कालीन नेकपामा एमसीसीलाई लिएर विवाद चर्किंदा अध्यक्ष ओलीसँगै ज्ञवाली पनि पक्षमा उभिएका थिए । झलनाथ खनाल नेतृत्वको अध्ययन कार्यदलको प्रतिवेदनमा उनले नोट अफ डिसेन्ट लेखेका थिए ।
पछिल्लो समय एमसीसीलाई लिएर सत्ता गठबन्धनमा खटपट भइरहेका बेला एमालेले भने प्रष्ट धारणा राखेको छैन । ओलीले गठबन्धन तोड्ने शर्तमा एमसीसी पारित गर्न सघाउने प्रस्ताव प्रधानमन्त्री देउवालाई गरेको चर्चा पनि चलिरहेको छ । तर, ओलीसहित एमालेका नेताहरुले एमसीसीबारे बोल्न जिब्रो चपाइरहेका बेला ज्ञवालीले भने यसको पक्षमा धारणा राखेका हुन् ।
टिप्पणीहरू