मकवानपुर काँग्रेसः बानियाँको दबदबाभित्र लामिछानेको इन्ट्री
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अचानक माओवादी नेता नारायणकाजी श्रेष्ठलाई चुनौती दिन मकवानपुरको राजनीतिमा उदाएका निर्माण व्यवसायी जयराम लामिछाने पुनः रोचक ढंगले काँग्रेस राजनीतिमा देखा परेका छन् । मकवानपुर क्षेत्र नम्बर २ मा श्रेष्ठ र लामिछानेको कडा टक्करपछि एमालेका सुवाष ठकुरीले जित हासिल गरेका थिए ।
त्यसयता लामिछानेको चर्चा मकवानपुरमा खासै छैन । तर, एकाएक पछिल्ला केही महिना मकवानपुर काँग्रेसको आन्तरिक राजनीतिमा भिडिरहेका उनै लामिछाने रोचक ढंगले प्रस्तुत हुँदै मकवानपुर सभापतिको दाबेदार बनेका छन् ।
उम्मेदवारी चर्चा पछिल्ला दिन यता भइरहे पनि औपचारिक घोषणा भने आज गरिएको हो । प्यानल निर्माण नभए पनि उनले हाललाई आफ्नो उम्मेदवारी सभापति पदका लागि भएको दाबी गरेका छन् ।
हेटौंडा–२ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्दै लामिछानेले पूर्व सभापतिहरुलाई साक्षी राखेर उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणामा पूर्वसभापति माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपाने, जिल्ला सचिव आनन्द कठायतसमेत थिए ।
लामिछानेको उम्मेदवारी कसरी एकाएक आयो भन्नेबारे यतिखेर संस्थापन पक्षमा खैलाबैला मच्चिएको छ । यसअघि रघुरमण न्यौपाने र हालका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, प्रभात दाहाललगायतको प्रतिस्पर्धामा बानियाँ बिजयी भएपछि मकवानपुरमा देउवापक्षका बानियाँको एकछत्र राज भएको हो ।
२०७० सालको संविधान सभाको निर्वाचनमा पहिलोपटक क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा विजयी हुनु, जिल्लामा काँग्रेसको नेतृत्व गर्न पाउनु र निरन्तर व्यवसायिक सफलतासमेत पाउँदै जानुले बानियाँको एकछत्र राज मकवानपुरमा देखिन्छ । गाउँपालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रका इकाइ समितिहरुमा पनि बानियाँ पक्षधरको बलियो उपस्थितिले गैरसंस्थापनपक्ष तनावमा देखिएको हो ।
गैरसंस्थापन पक्षलाई तनाव हुनुको अर्काे कारण बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएपछि जिल्लाको नेतृत्वमा अघि सारिएका अर्का व्यक्ति आनन्दराम पराजुली हुन् । एकाएक हेटौंडा उपमहानगर इकाइ समितिका सभापति बनेर काँग्रेसमा नयाँ शक्तिका रुपमा उदाएका पराजुली निर्माण व्यवसायी संघ मकवानपुरका पूर्वअध्यक्ष हुन् ।
बानियाँ पक्षधर मानिएका पराजुली सक्रिय राजनीतिमा आएको छोटै समयमा धेरै अवसर पाएका जिल्लास्तरीय नेता मानिन्छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी काँग्रेस र माओवादीको गठबन्धन बन्दा हेटौँडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार थिए । थोरै मतान्तरले पराजित भएपछि उनको चर्चा त्यत्ति धेरै भएन ।
तर पार्टी निर्माण र परिचालनमा आर्थिक लगानी गर्न सक्ने ल्याकत राख्दै आएका युवा नेता पराजुली जिल्ला सभापतिका उम्मेदवार बनेपछि कम समय र योगदानमै सिनियरहरुलाई उछिन्न खोजेको भन्दै गैरसंस्थापन पक्षले उनीसँग प्रतिस्पर्धा गर्न उपयुक्त पात्र खोजिरहेको थियो । त्यसकारण पनि गैरसंस्थापन पक्षले संस्थापन पक्षसँग प्रतिस्पर्धाका लागि गतिलो उम्मेदवारका रुपमा लामिछानेलाई अघि सारेको स्रोत बताउँछ ।
‘काँग्रेसभित्र पैसाको राजनीति बढी नै भयो’, काँग्रेसका एक जिल्लास्तरीय नेताले भने, ‘बानियाँले पैसाकै चलखेल बढी गर्न थालेपछि उनलाई टक्कर दिन लामिछाने जी (निर्माण व्यवसायी) नै मैदानमा आएका हुन् ।’ त्यसो त लामिछाने यसै पटक जिल्ला सभापति नहुने बरु हाललाई प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापति हुने चर्चा थियो ।
आगामी १५ औँ महाधिवेशनमा जिल्ला सभापति हुने इच्छा व्यक्त गरेका लामिछानेलाई पाँच वर्षअघि नै सभापतिका लागि अवसर जुटेको हो । जिल्लामा बानियाँ पक्षधरको दबदबा कम गर्न नेतृत्व गर्न अघि बढेका लामिछानेले केही समयअघि भएको महाधिवेशन प्रतिनिधि छनौटमा बानियाँकै हाराहारीमा मत प्राप्त गरेपछि थप हौसिएका हुन् ।
त्यसो त दुबै पक्षबाट पराजुली र लामिछाने दमदार उम्मेदवारको रुपमा अघि बढिरहँदा वर्तमान उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, अशोक शाक्यलेसमेत सभापति पदमा दाबी गरिरहेका छन् । त्यसो त नेता प्रकाशमान सिंह निकट नेविसंघ महामन्त्री प्रभात दाहाल पनि सभापतिका आकाँक्षी देखिएका छन् । उनले यसअघि बानियाँसँग सभापतिमै प्रतिस्पर्धा गरेका थिए ।
मकवानपुरसहित १६ वटा जिल्लामा काँग्रेस अधिवेशन हुन बाँकी छ । यसअघि माघ १५ गतेका लागि तोकिएको अधिबेशन कोभिड १९ का कारण रोकिएको छ । कोभिड १९ कम हुने बित्तिकै अधिवेशनमा जानुपर्ने भएकाले उम्मेदवारहरुले आफ्ना सचिवालय र कार्यालय स्थापना गर्ने र प्रचारप्रसारलाई तीव्र्र बनाउने कामलाई अघि बढाइरहेका छन् ।
टिप्पणीहरू