सिके राउतका उपाध्यक्षसहित छ जना पक्राउ
पूर्व-पश्चिम राजमार्ग बन्द गराउन हिँडेका आन्दोलनरत जनमत पार्टी महोत्तरीका ६ जना नेता-कार्यकर्ता बर्दिबासबाट पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार जनमतका महोत्तरी जिल्ला उपाध्यक्ष मकसुधन महतोसहितका आन्दोलनकारी पक्राउ परेका हुन् ।
त्यस्तै, सो पार्टीका पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास-६ का विनोदकुमार महतो, बलवा नगरपालिका-६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका-१ का वडाध्यक्ष वीरेन्द्र महतो समातिएका छन् ।
राजमार्ग अवरुद्ध बनाउने प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए ।
किसानको आन्दोलनलाई निस्तेज बनाइएको भन्दै प्रदेश सरकारलाई दबाब दिने उद्देश्यले जनमतले राजमार्ग ठप्प बनाउने कार्यक्रम राखेको बताएको छ ।
तर, आन्दोलनको खास प्रभाव भने देखिएको छैन । बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मीहरू सडकमा तैनाथ गरिएका कारण राजमार्ग ठप्प पार्ने आन्दोलनकारीको प्रयास सफल हुन् नसकेको हो ।
टिप्पणीहरू