तेस्रो लहर सकिनै लाग्दा होल्डिङ सेन्टर ह्याण्डओभरको तयारी
नेपाली सेनाको प्रत्यक्ष निगरानीमा निर्माण भइरहेको होल्डिङ सेन्टरको अधिकांश काम सम्पन्न भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा बन्दै गरेको हाल्डिङ सेन्टरको ८५ प्रतिशत कार्य सम्पन्न भएको हो ।
नेपाली सेनाको २९ करोड ३८ लाख २० हजार रुपैयाँ लागतमा निर्माण भइरहेको होल्डिङ सेन्टर ४ बिघा ८ धुर क्षेत्रफलमा निर्माणाधीन अवस्थामा छ । एक हजार जनाको क्षमताको उक्त सेन्टर तत्काल सञ्चालनमा ल्याउन चाहेमा तीन सय बेड राखेर सहज सञ्चालन गर्न सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।
अधिकाशं निर्माण कार्य सकिकाले अबको एक महिनामा होल्डिङ सेन्टरको शतप्रतिशत कार्य सम्पन्न गरि सञ्चालनमा ल्याउन लागिएको हो । ‘सेनाले निर्माण गरिरहेको होल्डिङ सेन्टर छिट्टै नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ’ उहाँले भन्नुभयो ।
होल्डिङ सेन्टर सञ्चालनका लागि मापदण्ड बनाएर मात्र उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ । होल्डिङ सेन्टर सञ्चालनका लागि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी) ले मापदण्ड बनाउने र सोहीअनुरुप हस्तान्तरण गरि सञ्चालनमा ल्याइने प्रजिअ खत्रीले जनआस्थालसँगको कुराकानीमा बताउनुभयो ।
यता, नेपालगञ्ज उपमहानगरपालिकाले भने होल्डिङ सेन्टरसम्म पुग्ने सडक सुधार गर्नुपर्ने अवस्थामा रहेको बताएको छ । उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीका जानकारी अनुसार होल्डिङ सेन्टरसम्म सवारी साधन पुग्ने सडक भए पनि सडक स्तरोन्नती गर्नैपर्ने अवस्थामा रहेको बताउनुभयो ।
होल्डिङ सेन्टरसम्म पुग्न आठ सय मिटर लामो ग्राभेल सडक छ । निर्माणधीन होल्डिङ सेन्टरको सम्पन्न भए लगत्तै जमूनाहा नाका हुँदै भारतबाट नेपाल आउने कोरोना संक्रमितलाई राखिने भनिएको छ ।
महामारी बाहेक होल्डिङ सेन्टरलाई विपद्को समयमासमेत प्रयोग गरिने प्रजिअ खत्रीले बताउनुभयो । होल्डिङ सेन्टरले कोरोना महामारी रोक्न मात्र नभई बाढी, भुकम्पलगायतका प्राकृतिक विपत्तिसँग जुध्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास सम्बन्धित पक्षले राखेको छ ।
टिप्पणीहरू