कर्मचारीतन्त्रमा लाजमर्दो काम
बढी पेन्सन बुझ्न रातारात बढुवा हुने र भोलिपल्टै अवकाश लिएर घर फर्किने,स्थायी सरकार भनिने नेपालको कर्मचारीतन्त्रमा मौलाएको लुटाहा प्रवृत्ति हो । ‘आफ्नै हात जगन्नाथ’ भने झैँ कर्मचारीका प्रमुखहरुले बिधि पुर्याई पुर्याई यसरी राज्य स्रोतको खुलेआम दोहन गरिरहेका छन् ।
सेवामा रहँदा सरुवा-बढुवाका लागि हुने अनेक चलखेल र दौडादौड कर्मचारीतन्त्रमा नौलो होइन । तर, सेवाबाट बाहिरिएपछि पनि मिलाई मिलाई खाइरहने प्रवृत्ति निजामतीमा पछिल्लो समय बेस्सरी मौलाएको छ । पेन्सन बढाउन र अवकाशपछि सरकारी नियुक्ति खान रातारात बढुवा हुने यो प्रवृत्ति हुन त विगतदेखिकै हो । त्यसले अहिले झन् बढी निरन्तरता पाएको छ ।
हालै लोकसेवा आयोगको सहसचिवबाट शंकर खरेल सचिवमा बढुवा भए । बढुवा भएलगत्तै अवकाश लिएर घर गए । यसअघि अघिल्लो सरकारकै पालामा महाश्रम शर्माले अघिल्लो दिन बढुवाको चिठी बुझे,भोलिपल्ट अवकाश लिएर घरतिर हिँडे । उनलाई अहिले विशिष्ट श्रेणीबाट अवकाश पाएको हैसियतमा शिक्षा मन्त्रालयअन्तर्गत परीक्षा सन्चालनसम्बन्धी आयोगको अध्यक्ष बनाइएको छ ।
अवकाशको मुखमा बढुवा खाने अर्का हुन् सचिव सूर्य आचार्य । अलि अगाडि नै उनी तीन नम्बरमा बढुवा सिफारिसमा परेका थिए । हालै बढुवा भएका उनले पनि एकदिन हाजिर गरेर अवकाश पाए ।
यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अवकाशपछिका लागि अहिलेदेखि नै सेटिङ मिलाएर बढुवा खाने यस्ता कर्मचारी धेरै छन् । खासगरी विशिष्ट श्रेणीमा अवकाश भएपछि सोहीअनुसारको पेन्सन खान पाइने र उस्तै परे अर्को सरकारी नियुक्ति पाइने भएकाले निजामतीमा यस्तो खुराफात हुने गरेको हो ।
यता,आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शोभाकान्त पौडेल बीमा समितिमा पनि सदस्य छन् । उनैलाई शेयर बजार हेर्ने सन्चालक समितिको सदस्य बनाइएको छ । जबकि त्यहाँ नेप्से,बीमा समिति र सरकारी बैङ्कमा एक एक जना सहसहसचिवलाई पठाउने अभ्यास विगतदेखि नै हुँदै आएको हो ।
तर, पौडेलले प्रधानमन्त्री पत्नी र अर्थमन्त्री जनार्दन शर्मा दुबैलाई रिझाएर एकैपटक दुई ठाउँमा जिम्मेवारी पाएका हुन् । जानकारहरुका अनुसार म्याडमसँग कुरो मिलाउने र यता अर्थमन्त्रीलाई पनि ठिक्क पार्ने भएकाले कांग्रेसी भएर पनि पौडेल अर्थमन्त्री शर्माको रोजाइमा परेका हुन् ।
टिप्पणीहरू