पशुपालकलाई प्रोत्साहन गर्न गोठालो भत्ता
भेडाबाख्रा पाल्ने किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले गोठालो भत्ता दिने भएको छ । प्रदेशका हिमाली जिल्लामा बसोबास गर्ने कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पाका ५० भन्दा बढी भेडाब्राखा किसानलाई गोठालो भत्ता दिने निर्णय गरिएको हो ।
उनीहरुलाई मासिक एक हजार पाँच सय रुपैयाँ गोठालो भत्ता पाउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिएका छन् । ‘५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानको लगत संकलन भइरहेको छ,’ उनले भने, ‘त्यसपछि ५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानले वार्षिक एकमुष्ट १८ हजार रुपैयाँ पाउने छन् ।’
भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ता दिन चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ विनियोजन गरिएको प्रवक्ता कठायतले जानकारी दिए । त्यस्ता किसानलाई गोठालो भत्ताका लागि अहिले जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयमा लगत संकलन भइरहेको छ ।
गोठालो भत्ताका लागि जुम्लामा त्यस्ता किसानको लगत कार्य सम्पन्न भएको छ । जुम्लाका दुई सय ६५ जना किसानले निवेदन दिएकामध्ये एक ५० जनाले गोठालो भत्ता पाउने भएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए ।
टिप्पणीहरू