को–को हुन् त करौंती कमरेड !
पार्टी, चुनाव चिह्न भनेर मात्रै नहुँदो रहेछ । उम्मेदवार मन नपरेपछि कसरी धोकाधडी हुन्छ भन्ने कुरा राष्ट्रियसभा निर्वाचनमा एमालेले बुझ्ने गरी परिणाम पाएको छ ।
माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश १ मा आपसमै अन्तर्घात हुँदा जित्न–जित्न लागेका एमाले उम्मेदवार गुरु बराल अन्ततः गोलाप्रथाबाट पनि आउन सकेनन् । थोरै मतसहित गठबन्धनमा सामेल जसपा उम्मेदवार हेमराज राईले समेत पराजय भोगे ।
गुरुदेखि हेमराजसम्मका पराजयको श्रृंखलामा अन्तर्घातको भूमिका पाइन्छ । हेमराजको सट्टा कांग्रेस, माओवादी, समाजवादीका उम्मेदवार भए चुनाव जित्ने अनुमान जसपा नेताहरुले लगाएका छन् । हेमराजको पराजयमा गठबन्धनको मतदान इमान्दारिता भएन भन्ने ठाउँ भने छैन । किनभने, उनका प्रतिस्पर्धी सोनम ग्याल्जेन शेर्पा यति समूहको दबाबमा खडा गरिएका थिए ।
त्यसका लागि यति समूहले गरेको खर्चले ठूलो भूमिका निभाएको ठहर जसपा नेताहरुले गरेका छन् । किनभने, उनीहरुसँग जम्मा चार मत मात्रै थियो । गठबन्धनसहित राप्रपासम्मको भोट यति समूहले किनेको अनुमान छ ।
त्यस्तै, एमाले उम्मेदवार गुरु बरालले आफ्नै चार सांसदको भोट पाएनन् । उनलाई भोट नदिएका एमालेहरुले राप्रपा रोजे । त्यहाँ राप्रपासँग तालमेल भएको भए एमालेले तीन सीट नै जित्ने रहेछ । यसरी एमालेका लागि ‘भुइँको टिप्दा पोल्टाको गयो’ भनेजस्तो भएको छ ।
जसपा उम्मेदवार हेमराज राई पराजित भएकोमा दोहोरो क्रसिङ देखिन्छ । एमालेलाई चाहिँ भोजपुरका १० बुँदेवालाले धोका दिएको आशंका गरिँदैछ । प्रदेश सांसदतर्फ एमालेको ४० मतमध्ये महिला सदस्यमा उम्मेदवार बनेकी सुमित्रा भण्डारीले ३६ मत पाइन् । गुरु बरालले पनि एमालेकै दुई भोट पाएनन् ।
चुनाव जित्ने कांग्रेसका गोपाल बस्नेतले पनि पाउनुपर्ने जति मत ल्याएनन् र गुरुसँग गोलाप्रथामा जानुप¥यो । गठबन्धनसँग रहेको चार हजार ६ सय ८० मतभारमध्ये उनले चार हजार चार सय ८० पाए । बाँकी दुई सय ८० मतभार गायव छ ।
तर, एकीकृत समाजवादीकी उम्मेदवार जयन्ती राईले सोचेभन्दा बढी मत पाइन् । उनकी प्रतिस्पर्धी झापाकी निमावि गुरु–आमा सुमित्रालाई केपी ओलीले डेनमार्कको राजदूतदेखि अनेकन अवसरमा अस्वाभाविक ढंगबाट अगाडि सारेको कारण दिक्दार भएका एमालेले पनि जयन्तीलाई मतदान गरेको अनुमान छ ।
यसैबीच, उपेन्द्र यादवसँग चर्किंदो अन्तर्विरोधपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको राजनीतिक यात्राले कुन बाटो पक्डिएला ? अहिले राजनीतिक बजारमा यसरी चर्चा हुन थालेको छ ।
पाँचदलीय गठबन्धनको सरकार बन्ने बेलामै उनले पत्नी हिसिलालाई मन्त्री बनाउन चाहेका थिए । तर, गठबन्धनका साझेदार दलहरुले राष्ट्रियसभाबाटै मन्त्री बनाउन खोजेनन् । सांसद नै नरहेकी हिसिलालाई बनाउने त झन् सम्भावना नै भएन ।
यसपछि बाबुरामको अर्को माग थियो, महेन्द्र रायको ठाउँमा आफ्नो मान्छेलाई कृषिमन्त्री बनाउने र हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशको खुला सदस्यतर्फ नवराज सुवेदीलाई अगाडि सार्ने । त्यसका लागि नवराजले ०७४ मा दिएको समानुपातिक उम्मेदवारी फिर्ता पनि लिए । तर, गठबन्धनले जसपालाई दिनै मानेन ।
लुम्बिनी प्रदेश कांग्रेसले छोड्न नचाहेपछि मात्रै प्रदेश १ मा हेमराज राईको उम्मेदवारी दिइएको थियो । त्यसो त जसपाले गठबन्धनमा जे–जे माग गरेको हो, त्यो–त्यो पाउँदै आएको छ । जस्तो : प्रदेश प्रमुख एकजना पाउने भनिएकोमा बाबुरामकै कोटाबाट प्रदेश १ तिर पर्शुराम खापुङ गए । राष्ट्रियसभामा मधेश प्रदेशबाट खालिद सिद्धिकी निर्वाचित भए । तर, पनि बाबुरामको असन्तुष्टि कायमै छ भनिन्छ ।
कतिपय नेता बाबुराम कुनै मिशनमा रहेको आशंका गर्दैछन् । मधेसमा सिके राउत, लोसपाहरुको गठबन्धन बनाएर जाने डिजाइन बनिरहेको छ । कांग्रेस नेता शेखर कोइरालाहरु केपी ओलीसँग अलिक नजिक भएर प्रदेश १ मा कांग्रेसको भोट क्रसिङ गराएको अनुमान पनि छ । कतै बाबुराम पछिल्लो समय भित्रभित्रै विकास भइरहेको राजनीतिक खिचडीका सहभागी त हैनन् ? यस्तो कोणबाट पनि कुरा उठिरहेको छ ।
टिप्पणीहरू