मोरङ र ललितपुरमा भेटिएका शव ५ फिट मुनि किन गाडियो ?
मोरङको धनपालथान गाउँपालिकास्थित बोर्डिङ टोल र ललितपुरको गोदावरी नजिकैको ठेचोमा तीन जना व्यवसायीको हत्या कनेक्सन बाहिरिएपछि गिरोहका पाँच जना सदस्य फरार भएका छन् ।
उनीहरुलाई खोज्न मोरङ प्रहरीको टोली लागिपरेको छ । यद्यपी अस्ति पक्राउ परेका मुख्य योजनाकारसहित गिरोहका तीन जनालाई प्रारम्भिक अनुसन्धान प्रतिवेदनसहित मोरङ प्रहरीले हिजो सार्वजनिक गरेको छ ।
हत्या घटनाको अनुसन्धान टुंगोमा पुर्याउन प्रहरीले चार वटा छुट्टाछुट्टै टोली गठन गरेर अनुसन्धान थालेको थियो । ठेचोस्थित प्रदिपकुमार थापाको घर छेउमा खाल्डो खनेर गाडिएका तेह्रथुमको संक्रान्ति गाउँपालिका २ का ६३ वर्षीय मोहन लिम्बुको शव बिहीबार फेला पारेको हो । उनको मंसिर २८ गते हत्या गरिएर गाडिएको थियो ।
लिम्बुको र मोरङको उखुबारीमा गत माघ १२ र १३ गते फेला परेको सुनसरी धरान उपमहानगरपलिका ३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका ४ का शम्भु चौधरीको हत्याको ‘कनेक्सन’ एउटै रहेको प्रहरीले दाबी गरेको छ ।
ललितपुर र मोरङका घटनामा हत्या गर्ने र शव गाड्ने तरिका एउटै भएको र काठमाण्डौंबाट एक जना पक्राउ परेको सूचना बाहिरिएपछि तीन जना व्यवसायीको हत्यामा संलग्न गिरोहका पाँच जना सदस्यहरु एकाएक फरार भएका हुन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार उक्त घटनाको कनेक्सन एउटै भएको सूचना नबाहिरिएको भए सम्भवतः हत्यामा संलग्न गिरोहका सबै सदस्य शुक्रबार बिहानै पक्राउ परिसक्ने थिए ।
सूचना बाहिरिएपछि बिराटनगर आसपासमै रहेका पाँच जना सदस्यलाई प्रहरीले जानकारीमा लिइसकेको थियो । तर बल्खुबाट पक्राउ गरेका हत्याका मुख्य योजनाकार सिराहा नगरपालिका स्थायी घर भएका ३१ वर्षीय अनिलकुमार मण्डललाई नै प्रयोग गरेर बिहीबार राति सबैलाई पक्राउ गर्ने र भोलि वा पर्सि मात्र प्रारम्भिक अनुसन्धान सार्वजनिक गर्ने मोरङ प्रहरीको योजना रहेको बताइन्छ ।
गिरोहका सदस्यलाई पक्राउ गर्न काठमाडौंमा पक्राउ परेका मुख्य योजनाकार मण्डललाई बिहीबार राति नै प्रहरीले मोरङ पुर्याएको थियो । तर सूचना बाहिरिएकाले त्यतिञ्जेलसम्म सबै ‘हाइड’ भइसकेका थिए । प्रहरीले कसैको पनि पत्तो पाउन सकेन । फरार रहेका गिरोहका सदस्यहरुमा केही भारतीय नागरिक समेत रहेको बताइन्छ ।
हत्या गर्न पाँच लाखको सुपारी
ललितपुर र मोरङमा हत्या गरिएका तीन जना र पक्राउ परेका अनिलकुमार मण्डल कारोबारमा साझेदार रहेको खुलेको छ । उनीहरुबीच नाफा बाँडफाँटमा विवाद देखियो । उनीहरु सबैजना वैध तथा अवैध कारोबारमा सहभागी भएको पुष्टि भएको छ । सोही कारण मण्डलले नाफा एक्लौटी बनाउन साभेदारहरुको हत्या गर्ने योजना बनाएको प्रहरीले बताएको छ ।
उनले आफनो योजनाअनुसार भारतीयहरु समेत संलग्न रहेको किलरहरुको गिरोहलाई जनही पाँच लाख रुपैयाँ सुपारी कबोलेर दुई लाख रुपैयाँका दरले पेश्की समेत दिएका थिए । त्यसपछि योजनाअनुसार पालैपालो तीन जनाको ‘प्लान मर्डर’ गराएको रहस्य खुलेको छ ।
मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ललितपुर र मोरङमा फेला परेका तीनै जना व्यवसायीको हत्या किलरहरुले डोरी र गम्छाले घाँटी कसेर गरेको बताइएको छ । त्यसपछि गोलो इनारझैँ गहिरो खाल्डो खनेर नुन हालेर शवलाई गाडिदिएका थिए ।
पहिले लिम्बु, त्यसपछि राजेन्द्र अनि शम्भुको हत्या
हत्या योजनाअनुसार पहिले मंसिर २८ गते काठमाडौंको गोठाटार बस्दै आएका तेह्रथुमका मोहन लिम्बुको हत्या गरिएको थियो । लिम्बुवलाई मण्डलले प्रयोग गर्दै आएको ठेचोस्थित भाडाको घर परिसरमा गाडिएको अवस्थामा फेला पारिएको हो ।
त्यसपछि मंसिर २९ गते कारोबारका लागि भन्दै योजनाकार मण्डलले साझेदार शम्भु चौधरी र राजेन्द्र श्रेष्ठलाई बिराटनगर बोलाएका थिए । बिराटनगरमा उनीहरु बसपार्कस्थित होटलमा बसेका थिए । त्यसपछि पुस ५ गते राजेन्द्र श्रेष्ठलाई अहपरण गरि विराटनगरदेखि १५ किलोमिटर पूर्व र ५ किलोमिटर जति दक्षिणमा रहेको नेपालभारत सीमाबाट चार किलोमिटर उत्तरमा रहेको धनपालथान गाउँपालिका ७ मा रहेको उखुबारीमा लगेर हत्या गरि शव गाडेका हुन् ।
त्यसको दुई दिनपछि पुस ७ गते अर्का साझेदार शम्भुलाई पनि सोही ठाउँमा लगेर उस्तै तरिकाले हत्या गरि ३० मिटरको फरकमा गाडिदिएका थिए । नाफा भाग लगाउनुपर्ने सबै साझेदारहरुको हत्यापछि योजनाकार मण्डल काठमाडौ फर्किएका थिए ।
सुरुमा अपराधको कुनै कनेक्सन फेला पार्न नसकेको प्रहरीले आफन्तबाट मृतकहरुको कारोबारबारे सोधपुछ गरेको थियो । खोजबिनका क्रममा उनीहरुको कारोबार सञ्जाल धेरैतिर र करोडमा भएको प्रहरीले जानकारी लियो । त्यसपछि प्रहरीले कारोबार साझेदारहरुको ‘कनेक्सन’ खोज्न थालेकोह हो ।
कनेक्सन खोज्ने क्रममा साझेदार अनिलकुमार काठमाडौंको बल्खुमा बस्ने गरेको पत्तो लाग्यो । उनलाई टे«सगर्दा प्रहरीले मोरङबाट दुई जनालाई नियन्त्रणमा लिन सफल भयो । त्यसपछि पक्राउ परेकाहरुबाट सुपारी दिने मुख्य योजनाकार सिरहाका अनिलकुमार मण्डल भएको र उनकै योजनामा ललितपुरमा पनि एक जनाको हत्या गरेर गाडेको रहस्य खुलेको हो ।
त्यञ्जिेलसम्म प्रहरीले भारतीयहरुसमेत सामेल भएको किलर गिरोहको संलग्नता पहिचान गरिसकेको थियो । तर ललितपुर र धनपालथानको कनेक्सनको सुईंको बाहिरिएपछि थप पाँच जनालाई तत्काल पक्राउ गर्न प्रहरी असफल भएको हो ।
कारोबार अझै रहस्यमय
प्रहरीले मुख्य योजनाकार र गिरोहका दुई जना सदस्यलाई पक्राउ गरे पनि कारोबार र लगानीबारे अझै सार्वजनिक गरेको छैन । घरजग्गा, निर्माण, उद्योगदेखी हाईड्रोपावरसम्म लगानी गरेको भनिएका उनीहरुको कारोबार करोडौंमा रहेको विवरण प्रहरीले प्राप्त गरेको छ । तर उनीहरुको कारोबार वैध वा अवैध कस्तो थियो भन्ने बारे प्रहरीले अझै खुलाउन चाहेको छैन ।
‘लगानीको प्रतिफल एकलौटी बनाउन साझेदारहरुको प्लान मर्डर भएको र उनीहरुको लगानी करोडौमा रहेको प्रष्ट हुन्छ । लगानी कस्तो हो त्यो हामीले पनि पत्तो लगाइसकेका छैनौं, अनुसन्धान गर्दैछौं,’ मोरङका एसपी जर्नादन जिसीले भने । उनका अनुसार पक्राउ परेका मुख्य योजनाकार अनिलकुमार विभिन्न कम्पनीका सञ्चालक र सिइओ रहेको देखिन्छ ।
टिप्पणीहरू