के हो डिजिटल मुद्रा ? यसले कसरी काम गर्छ ?
डिजिटल मुद्राबारे विश्वभर चर्को बहश शुरु भएको छ । वित्तीय बजारमा डिजिटल मुद्रा सबैभन्दा जल्दोबल्दो बिषय बनेको छ । यसवारे विकसित मुलुकमा मात्र होइन नेपालमा समेत कुराहरु उठ्न थालेका छन् । डिजिटल मुद्रालाई डिजिटल मनी,इलेक्ट्रोनिक मनी वा विद्युतीय मुद्रा भनिन्छ ।
यो तपाईं हाम्रो खल्ति वा थैलीमा राखिने रुपैयाँ पैसाजस्तै नगद सम्पत्ति हो । जुन मुख्य रूपमा डिजिटल स्वरुपमा हुने भएकाले कम्प्युटर प्रणालीमा विशेष गरी इन्टरनेटमा व्यवस्थित तरिकाले भण्डारण वा आदानप्रदान गरिन्छ ।
“यसको सामान्यतयाः भौतिक रूप भने हुँदैन । यो कागजी नोट वा धातुका सिक्काहरू भन्दा नितान्त फरक हुन्छ ।”
डिजिटल मुद्राले परम्परागत मुद्राको जस्तै मूल्यको गुण प्रदर्शन गरे पनि यसको सामान्यतयाः भौतिक रूप भने हुँदैन । यो कागजी नोट वा धातुका सिक्काहरू भन्दा नितान्त फरक हुन्छ ।
डिजिटल मुद्राका प्रकारमा हालसम्म क्रिप्टोकरेन्सी,भर्चुअल मुद्रा र केन्द्रीय बैंकले जारी गरेका डिजिटल मुद्रा समावेश छन् । धेरै वटा केन्द्रीय बैंकले डिजिटल मुद्राको प्राविधिक र आर्थिक सम्भाव्यतासमेत गरिसकेका छन् । यसले मौद्रिक नीति,तरलता आदिमा पार्ने प्रभावका बारेमा विश्लेषण र अध्ययनहरू गरेका छन् । नेपालमा भने यो आजका मितिसम्म पूर्ण रुपमा प्रतिबन्धित छ ।
डिजिटल मुद्रा कस्तो हो ?
केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) डिजिटल रूपमा जारी कानूनी मुद्रा नै हो । यो स्वरुपमा फरक भए पनि कानुनी ग्राह्यताको दृष्टिकोणले सरकारद्वारा जारी भएकाले भौतिक मुद्राजस्तै विनिमय योग्य हुन्छ ।
अर्को शब्दमा भन्नुपर्दा यो हामीले दैनिक प्रयोग गर्ने कानूनी मुद्राजस्तै हो । तर यसको स्वरुप डिजिटल हुन्छ ।
डिजिटल मुद्राले कसरी काम गर्छ ?
सीबीडीसी मुद्राको आधुनिक र डिजिटल रूप हो । यसले लेनदेन र कारोबारलाई थप सजिलो बनाउँछ । भारतीय रिजर्भ बैंकले सीबीडीसीलाई भौतिक नगद मुद्रामा भन्दा थप सुरक्षित र सुविधाजनक विकल्पको रुपमा अघि सारेको छ ।
विभिन्न डिजाइन र विकल्पमा निर्भर गर्ने भएकाले यसले वित्तीय साधनको जटिल रूपसमेत धारण गर्न सक्ने आशंका प्रारम्भमा गरिएको थियो । तर अहिले भारतले यसलाई प्रचलनमा ल्याउने निर्णय गरेको छ ।
के सीबीडीसी बिटक्वाइनझैँ क्रिप्टोकरेन्सी हो ?
बिटक्वाइन निजी क्रिप्टो मुद्रा हो भने सीबीडीसी निजी मुद्रा होइन । यो सरकार र केन्द्रीय बैंकले कानुनत: प्रत्याभूत गरेको मुद्रा नै हो । तर यो कानुनी टेन्डरको डिजिटल रूप हो । यो अन्य निजी भर्चुअल मुद्राहरूभन्दा पूर्ण रूपमा फरक छन् ।
निजी भर्चुअल मुद्राहरू परम्परागत र ऐतिहासिक मुद्राको अवधारणासँग पूर्णरुपमा भिन्न छन् । निजी भर्चुअल मुद्राहरूको कुनै मूल्यको ग्यारेण्टी हुँदैन किनकि तिनीहरूको कुनै आन्तरिक मूल्य तोकिएको हुँदैन ।
टिप्पणीहरू