कैलालीमा सयबढी लागुऔषध कारोबारी समातिए

कैलालीमा सयबढी लागुऔषध कारोबारी समातिए

कैलालीमा लागुऔषध कारोबार गर्ने एक सयभन्दा धेरै जनालाई प्रहरीले पक्रेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो छ महिनामा जिल्ला प्रहरी कार्यालय कैलालीले १ सय ७ जनालाई लागुऔषध सहित समातेको हो ।

प्रक्राउ पर्नेमा अधिकाशं पुरुष छन् । एक सय सात जना पक्राउ पर्दा पाँच जना महिला लागुऔषध कारोबारमा संलग्न रहेको देखिएको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध ७२ वटा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार आर्थिक वर्ष २०७७÷७८ को अर्धवार्षिक अवधिमा ४३ मुद्दामा ५७ जना पक्राउ परेका हुन् ।

चालू आर्थिक वर्षको पहिलो छ महिनामा लागुऔषध मुद्दामा समातिनेहरु अघिल्लो आर्थिक वर्षको सोही अवधिमा समातिनेको तुलनामा ८७ दशमलब ७१ प्रतिशतले वृद्धि भएको पाइएको छ । अधिकारीका अनुसार पक्राउ पर्नेहरूमध्ये अधिकांश १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवायुवती धेरै छन् ।

पक्राउ परेका १ सय ७ जनामध्ये ६१ जना १६ देखि २५ वर्षमुनिका छन् । यो वर्ष कैलाली प्रहरीले १ सय ९९ ग्राम ४ सय ३७ मिलिग्राम खैरो हिरोइन, ५ सय ५८ ट्याब्लेट नाइट्राभेट, ५ सय ५५ क्याप्सुल स्पास्मो, २३ किलो १ सय ४० ग्राम चरेश, ८० क्याप्सुल नाइट्राजपाम, प्रोवएल स्पाम २३ क्याप्सुललगायत बरामद गरेको छ ।

भारतसँगको खुला सिमानाका कारण कैलालीमा लागुऔषध तस्करको बिगबिगी बढेको पनि उहाँले बताउनुभयोे ।

टिप्पणीहरू