बेइजिङ्गबाट पश्चिमालाई पेलान
बेइजिङ हिउँदे ओलम्पिक २०२२ का दौरान चिनियाँ र रुसी राष्ट्रपतिबीच फेब्रुअरी ४ मा भएको सम्झौतामा युक्रेन शब्द नहुनुलाई चीनको रुसप्रति सो मामिलामा समर्थनको रूपमा विश्लेषण गरिएको छ । पाँच हजार ३६४ शब्दको सम्झौतामा सो शब्द नहुुनुमा चिनियाँ चाहना व्यक्त गरेको देखिए पनि अहिले चीन अमेरिका र पश्चिमाहरूसँग नजिक चाहिँ छैन । चीनले नाटो विस्तारको विरोध गरेबाटै चीनको रुससँगको मित्रता अब पछि हट्दैन भन्ने स्पष्ट हुन्छ । चीनको तिब्बत,ताइवान, सिनजियाङ र हङकङको मामिलामा मानवाधिकारको रङ्ग दिएर कूटनीतिक बहिष्कार गर्ने अमेरिका र पश्चिमाहरुलाई भारतले पनि साथ दिनु आश्चर्यमय देखिन्छ । गलवान उपत्यकामा भएको भिडन्तमा संलग्न चिनियाँ सैनिकलाई ओलम्पिक टर्च बोकेको देखेको भारतले अमेरिकालाई साथ दिनु आश्चर्यको विषय चाहिँ होइन । कतिसम्म भने भुटानी शरणार्थीलाई मेची नदी कटाएर काकडभिट्टामा हुलिदिने भारतले नेपाललाई कति माया गर्छ भन्ने कुरा देखिएकै हो ।
नेपालको कालापानी क्षेत्र देखादेखी खाइदिनु, २५ वर्ष नाघ्दा पनि महाकाली सन्धि लागु नगर्नु,नेपालका चिया,अलैँची आदि आयातमा रोक लगाएर यहाँको व्यापार घाटाका लागि मरिमेट्नु,बिराटनगरमा जबर्जस्ती सम्पर्क कार्यालय खोल्नु, परियोजनाहरु हात पार्नु र सम्पन्न गर्न आनाकानी गर्नु भारतीय विशेषता छँदै छ, हुँदा हुँदा इपिजी प्रतिवेदन पनि ग्रहण गर्न टेरपुच्छर नलगाउने उसको चरित्र देख्दादेख्दै पनि नेपालले नजिकको, भरपर्दाे र विशेष सम्बन्ध भएको मित्र भनी भनिरहनुपर्ने बाध्यता चाहिँ के रहेछ कुन्नि ? अझ प्रमाणपत्र नबुझाई सरकार प्रमुखहरूका शयन कक्षमा पुग्ने इन्डियन इन्भोएहरुको लिँडेढिपी देख्न विवश नेपालीले नेपालको सूक्ष्म व्यवस्थापन गर्न बानी पारेको भारतले हाम्रो देशको संविधानमा डिक्टेट गर्न खोज्दा नसकेर नाकाबन्दी गरेको टुलुटुलु पनि हेर्नुपर्यो ।
“भुटानी शरणार्थीलाई मेची नदी कटाएर काकडभिट्टामा हुलिदिने भारतले नेपाललाई कति माया गर्छ भन्ने कुरा देखिएकै हो ।”
जे होस् बेइजिङमा चमत्कारिक प्रगति देख्न वञ्चित पश्चिमाहरूलाई चिनी –रुसी ऊर्जालगायत सम्झौताबाट रुस अब आफूहरूसँग ग्यास लगायत ऊर्जामा परनिर्भर हुन छाडेकामा भने झट्का लागेको हुनुपर्छ । ताइवान चीनको अभिन्न अङ्ग भनी रुसले दिएको स्पष्ट भनाइ र युरोपको सुरक्षामा चीनले बोलेको कुरा पनि तिनका लागि मुटुमा हाने जस्तो भएको हुनुपर्छ । अनि तिनलाई युक्रेन र ताइवानको विषय एकै चोटि आएकाले मतिभ्रम पनि भएको हुनुपर्छ । हिन्द –प्रशान्त क्षेत्रमा अकुस र क्वाड लगाएर चीनलाई घेर्दैै जाने तिनको रणनीतिमा रुस– चीन –इरान सम्बन्धले रोकावट आएको पनि तिनले महसुस गरेकै हुनुपर्छ ।
विश्व राजनीतिमा आएको यत्रो फेरबदल वा विश्व प्रणालीमा आएको उथुलपुथल पनि देख्या नदेख्यै गरी सार्क, बिम्स्टेक, कालापानी विषयमा वार्ता वा इपिजी प्रतिवेदन ग्रहण, गोर्खा पेन्सन, एमसिसी जस्ता विषयमा अल्झेर नेपाल भने कुहिराको काग बनेर बसेको देख्दा अचम्म लाग्छ । भारतले चीनसँग मनमुटावका साथ ऊसँग व्यापार र लगानीलाई बढावा दिइराख्नु तथा रुस–अमेरिका–युरोप सबैलाई रिझाएर विश्व राजनीतिमा यति अघि बढ्दा पनि आफ्नो नजरको दृष्टिशक्ति गुमाउनु र भ्रष्टाचारमा चुर्लुम्म डुब्ने र आन्तरिक राजनीतिमै अल्झनु कतिसम्मको जायज हो ? छिमेकी चीनमा भएको त्यत्रो खेलकूद प्रतियोगितामा मुलुकले एउटासम्म खेलाडी नपठाएर कसलाई कुन गुन लगाउन पुगेको हो, खोज्नुपर्ने देखिन्छ ।
–अनामिका उपाध्याय
टिप्पणीहरू