एमसीसीको पत्रले हङ्गामा, ओली बालुवाटार जाँदै

एमसीसीको पत्रले हङ्गामा, ओली बालुवाटार जाँदै

गत सेप्टेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि सत्ता गठबन्धनमा संकट आएको छ । एमसीसी पास गर्ने प्रतिवद्धतासहित लेखेको सो पत्र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक भएपछि देउवा र प्रचण्डबीच मनमुटाब बढ्दा गठबन्धनमै ध्रुवीकरण आउने अवस्था बनेको हो ।

प्रधानमन्त्रीको सचिवालयले निहित राजनीतिक उद्धेश्यका लागि पत्र सार्वजनिक गरेको भन्दै प्रचण्ड असन्तुष्ट बनेपछि गठबन्धन नै संकटमा परेको हो । पत्र सार्वजनिक भएपछि नैतिक दबाबमा पर्नुभएका प्रचण्डले सरकारबाट बाहिरिने चेतावनी दिएको चर्चासमेत चलेको छ ।

यता, देउवा र प्रचण्डको पत्रको जवाफमा एमसीसीले फागुन १६ को डेडलाइन तोकेर सम्झौता अनुमोदन गर्न दबाबमूलक पत्र पठाएपछि प्रधानमन्त्री जुनसुकै मूल्यमा एमसीसी अनुमोदन गराउने तयारीमा लाग्नुभएको छ । गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीबाट सहयोग नहुने बुझेपछि प्रधानमन्त्री प्रतिपक्ष दलको सहयोग लिने तयारी थाल्नुभएको स्रोतले बताएको छ ।

त्यसैका लागि प्रधानमन्त्री देउवाले अहिले अपरान्ह ४ बजे प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसंग भेटवार्ता गर्दै हुनुहुन्छ । ओलीसंगको भेटमा देउवाले प्रचण्डलाई पनि बोलाएको तर, प्रचण्डले अस्वीकार गरेको स्रोतले बताएको छ । प्रचण्डले माधव नेपालसहितको भेटमा मात्र आफू बस्ने जवाफ देउवालाई दिनुभएको बताइन्छ ।

माओवादी केन्द्रका नेताहरुले भने सरकारबाट बाहिरिने कुरा बाहिरी हल्ला मात्र भएको बताएका छन् । ‘सरकार छोड्ने भन्ने मिडियामा आएका कुरा सत्य होइन, अहिले धेरै कुरा टिप्पणी नगरौँ’, माओवादीका एक नेताले भने।

टिप्पणीहरू