संक्रमणदर घटे पनि मृत्युदर उस्तै
पछिल्लो सातादेखि मुलुकभर कोरोना संक्रमणदर घटिरहेको छ । कोरोनाको तेस्रो लहर सुरु भएदेखि निरन्तर उकालो लागेको कोरोना संक्रमणदर केही मात्रामा घटेको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार तीन सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ५१ जनामा नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ जनाको निधन भएको छ । यो अवधिमा आठ हजार सात सय चार जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै ४५ हजार दुई सय ४८ जना सक्रिय संक्रमित छन् ।
कोरोनाको तेस्रो लहर सुरु भएदेखि सबैभन्दा धेरै संक्रमित उपत्यकामा छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा पाँच सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा चार सय १० जना संक्रमित थपिएका छन् । भक्तपुरमा ३२ र ललितपुरमा एक सय २४ जना नयाँ संक्रमित थपिएका हुन् ।
टिप्पणीहरू