कोरोना भगाउन वामदेव गौतमले केसम्म गर्नुभयो ?

कोरोना भगाउन वामदेव गौतमले केसम्म गर्नुभयो ?

वामदेव गौतम नेपाली राजनीतिमा चर्चित नाम हो । पटक-पटक मन्त्री र देशकै सबैभन्दा ठूलो पार्टी एमालेको उपाध्यक्षसमेत भैसक्नुभएका उहाँ पछिल्लो समय गुमनामजस्तै हुनुहुन्छ । तत्कालीन नेकपा विभाजनपछि ‘एकता अभियान’ चलाउनु भएका गौतम एमाले विवादमा तटस्थ रहनुभएको थियो ।

एमाले फुटेपछि सक्रिय राजनीतिबाट टाढा रहनुभएका उहाँ गत साता कोरोना संक्रमणको शिकार हुनुभयो । माघ ७ गते एमाले सांसदसमेत रहनुभएकी पत्नी तुलसी थापालाई संक्रमण भएपछि उहाँलाई पनि कोरोना देखिएको हो । माघ १६ गते शंका लागेर परिवारका ६ जनाको पीसीआर परीक्षण गराउँदा गौतममा कोरोना पोजेटिभ देखिएको थियो ।

कोभिड पुष्टि भएपछि तुरुन्त आइसोलेसनमा बस्नुभएका गौतम अस्ति संक्रमणमुक्त भैसक्नुभएको छ । एक साता आइसोलेसन बस्नुभएका उहाँले उचित आहारव्यहार र दैनिकीले कोरोना जित्न सफल भएको बताउनु भएको छ । कोरोना लागेपछि केही दिन दु:ख भए पनि अहिले आफू पूर्ण स्वस्थ रहेको उहाँको भनाइ छ ।

डाक्टरको सिफारिसअनुसारको औषधि सेवन र घरेलु उपचार पध्दतिमा ध्यान दिएका कारण कोरोना जित्न सजिलो भएको गौतमको अनुभव छ । आइसोलेसनमा रहँदा तातो पानी पिउने,तातो खाने,योगा र कसरत गर्ने गरेकाले कोरोना बिलिन भएको उहाँले सुनाउनुभयो ।

‘कोरोना आयो गयो,म अहिले खुशी छु । मैले डा. को सल्लाहमा सिटामोल,राइनास,अलेग्रा सी टी जेड बेला-बेलामा खाएँ । वैद्यले दिएको दबाइ पनि खाएँ’, गौतमले अनुभव सुनाउनुभयो, ‘बाफ पनि लिई राखेँ । तातो पानी,तातो सुप,तातो खानामात्र खाएँ । तातो पानीले नुहाएँ । आधा घण्टा संक्षिप्त योग र आधा घण्टा वाकिंग नछोडी दैनिक गरिरहेँ । कोरोना आयो,केही दिन दु:ख दियो, अनि विलिन भयो, गयो ।’

टिप्पणीहरू