खोप कति लगाइयो, कति बाँकी छ ? : स्वास्थ्य मन्त्रालय

खोप कति लगाइयो, कति बाँकी छ ? : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय तहलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

यसअघि मन्त्रालयले माघ २१ गतेसम्म सातै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहलाई मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । सो निर्देशनअनुसार सातै प्रदेश, ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले विवरण उपलब्ध गराएका छन् ।

तर, हालसम्म विवरण प्रविष्ट नगरेका ६ जिल्ला र एक सय नौ स्थानीय तहलाई खोपको मौज्दात यथाशीघ्र अनिवार्य रुपमा प्रविष्ट गर्न मन्त्रालयले ताकेता गरेको हो ।कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा छानबिन गर्न गठित समितिको पहिलो बैठकको निर्णयअनुसार कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्धको खोपलगायका सबै व्यक्तिको विवरण डिएचआइएस–२ प्रणालीमा प्रविष्ट गर्न सार्वजनिक सूचना जारी भएको थियो ।

साथै, प्रयोगमा आउन सक्ने खोपको बाँकी मात्रा यकिन गरी छानबिन प्रक्रियालाई सम्पन्न गर्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७ सय ५३ वटै स्थानीय तहले २१ माघ २०७८ सम्ममा प्राप्त खोपको मात्रा तथा म्याद गुज्री वा अन्य कुनै कारणवशः क्षति भई प्रयोग गर्न नमिल्ने खोपको मात्राको विवरणसमेत पर्सि दिउँसो ३ देखि ४ बजेभित्रमा प्रविष्ट गर्न मन्त्रालयले दोस्रो पटक सूचना जारी गरेको हो ।

टिप्पणीहरू