भक्तिनीमाथि बलात्कारको आरोप लागेका ‘बाबा” भोलि सफाइ पाउनेमा ढुक्क
आफ्नी अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेका तर कुरा मिलाएर जिल्ला अदालत सुनसरीबाट थुनामुक्त भएका सिध्दबाबा पुनः माथिल्लो अदालतबाट पनि सफाई पाउने योजनामा कुदेका छन् । सुनसरीस्थित चतराधामको आश्रममा बस्दै आएका सिध्दबाबा भनिने कृष्णदास गिरी उच्च अदालतमासमेत पहिलेको झैँ सेटिङ मिलाएर सफाइ दिलाउने योजनामा लागेको रहस्य खुलेको छ ।
उच्च अदालतबाट सफाइ पाउनकै लागि उनले पैसा र शक्ति प्रयोग गरेर अनेकौं तिकडम गरेको विभिन्न स्रोतको दाबी छ । गिरीको पहुँच र पैसाका सामुन्ने न्यायमूर्ति र कानुन व्यवसायीहरुलाई नतमस्तक बनाउन बिचौलियाहरु खुलेर लागेका छन् ।
भोलि बुधबार उच्च अदालत विराटनगरमा कृष्णदासको मुध्दाको पेशी तोकिएको छ । बताइएअनुसार उनले फैसला आफनो पक्षमा पार्न काठमाडौंबाट नाम चलेका एक दर्जन कानुन व्यवसायी झिकाउने तयारी छ । यसअघि उनको विरुद्ध आदेश गर्ने मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा मुद्दा नपरेमात्र आफ्ना पहुँचवाला कानुन व्यवसायीहरुमार्फत् सुनुवाई थाल्ने अन्यथा स्थगित गराउनेसम्मको योजनामा रहेको गिरी निकट स्रोतले बताएको हो ।
मुख्य न्यायाधीश तिलप्रसादको छिट्टै सरुवा हुने सम्भावना रहेको अदालत स्रोतले आशंका गरेको छ । न्याय सम्पादनमा निष्ठावान मानिएका श्रेष्ठले कृष्णदासविरुद्ध परेको पुनरावेदनमा सुनसरी अदालतको आदेश उल्टाएर पुर्पक्षका लागि थुनामै राख्न आदेश गरेका थिए ।
त्यसपछि हतारमा बहाना बनाएर भारत फरार भएका कृष्णदास उच्चको आदेशविरुध्द सर्वोच्च अदालत समेत गए । सर्वोच्चले पनि उच्चकै आदेश सदर गरेपछि उनी सुटुक्क सुनसरी अदालतमा हाजिर भएका हुन् । पछि जिल्ला अदालतमा सेटिङ मिलाएर बलात्कार गरेको नभई सहमतिमै यौन सम्पर्क गरेको भन्ने फैसला गराएर उनी थुनामुक्त भएका थिए ।
बलात्कार आरोपी कथित सिद्धबाबाले जिल्लाबाट सफाई पाएपछि पीडित महिलाले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन् । उक्त मुद्दालाई काउन्टर दिन कृष्णदासले पनि आफूमाथि झूठा मुद्दा लगाएको भन्दै उच्चमा निवेदन दर्ता गराएका थिए । उच्च अदालतले दुबै मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाई गर्ने तयारी गरेको छ । तर, कोभिड संक्रमणको कारणले मुद्दाको पेसी तोकिए पनि पटक–पटक सर्दै आएको छ ।
पछिल्लो पटक माघ ६ गते तोकिएको पेसीमा पनि कृष्णदासले काठमाडौंबाट एक दर्जन पहुँचवाला कानुन व्यवसायी विराटनगर झिकाएका थिए । तर उक्त दिन पेशी तोकिएर पनि उनको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सुनुवाई हुन नसकेको हो । उच्चका केही सरकारी वकिलहरु नै मुद्दाको फैसला ‘फिक्सिङ्ग’ मा लागिपरेको अहिले विराटनगरमा चर्चा छ ।
“जिल्ला अदालतमा सेटिङ मिलाएर बलात्कार गरेको नभई सहमतिमै यौन सम्पर्क गरेको भन्ने फैसला गराएर उनी थुनामुक्त भएका थिए ।”
अब भोलि २६ गते हुने पेशीमा कथित सिद्धबाबाले सेटिङ गरेर उच्चबाट पनि सफाई पाउने सम्भावना बढेको आशंका धेरैले गरेका छन् । फौजदारी कार्यविधि संहिताअनुसार कुनै पनि अदालतका न्यायाधीशले फैसला भएको एक महिनाभित्र आदेश लेखेर प्रमाणीकरण गराई मिसिलमा समावेश गरिसक्नुपर्छ । अदालतले उक्त फैसला आफनो वेवसाइटमा सार्वजनिकसमेत गर्नुपर्ने हुन्छ ।
ढिलो भएमा जिल्लाको हकमा उच्चमा उजुरी दिनसक्ने व्यवस्था छ । फैसला लेखनमा ढिलाई भयो भन्दै परेको उजुरीअनुसार मातहतको अदालतलाई एक हप्ताभित्र फैसला लेखिसक्न निर्देशनसमेत दिन सक्छ । यसअघि उच्च अदालतले चाँडै फैसला लेखेर बुझाउन सुनसरी अदालतलाई आदेश नै गर्नुपरेको थियो ।
जेलमुक्त भएपनि बलात्कार आरोपी आश्रममै
आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको अभियोग लागेका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले विवादित फैसला गर्दै अघिल्लो वर्ष मंसिर २२ गते सफाई दिएको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुन कोइरालाको इजलासले वादीको मागदाबी नपुगेको भन्दै अन्तिम फैसला गरेपछि पूर्पक्षका लागि थुनामा रहेका उनी जेलमुक्त भएका थिए ।
पर्याप्त प्रमाण हुँदाहुँदै पनि जिल्ला अदालतले नाटकीय ढंगले सफाई दिएपछि जेलमुक्त भएका सिद्धबाबा हाल चतराधामस्थित आफ्नै आश्रममा पुरानै शान र शौकतमा बस्दै आएका छन् ।
सिद्धबाबाविरुद्धको बलात्कार अभियोग र न्यायिक श्रृंखला
विवादास्पद हिन्दु धर्मगुरु सिद्धबाबालाई सुनसरीको बराहक्षेत्रको चतराधामस्थित आश्रममा २०७६ कार्तिक ४ गते आफ्नै साधक महिलालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित महिलाले आफूमाथि बलात्कार भएको किटानी जाहेरी दिएपछि पक्राउ पर्ने डरले कृष्णदास मंसिर १२ गते सिकिस्त बिरामीको बहाना बनाएर विराटनगरस्थित विराट अस्पतालमा भर्ना भएका थिए ।
सुनसरी प्रहरीले उनलाई मंसिर १६ गते पक्राउ गरी अस्पतालमै राखेर पटक–पटक अदालतमा म्याद थप गराउँदै अनुसन्धान गरेको थियो । सोही वर्षको पुस १० गते उनीविरुद्ध प्रहरीले बलात्कार अभियोगमा सुनसरी अदालतमा मुद्दा दर्ता गराएको हो ।
पुस १४ गते जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई तीन लाख धरौटीमा बाहिर बसेर पूर्पक्ष गर्न पाउने गरी थुनामुक्त गरिदियो । माघ ९ गते उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै थुनामा राखेर पूर्पक्ष गर्न आदेश गरेको थियो । उच्चको आदेशपछि पक्राउ पर्ने डरले भारततर्फ फरार भएका कृष्णदास पछि अदालतमा हाजिर भएर पूर्पक्षका लागि झुम्का कारागारमा थुनामा बस्दै आएका थिए ।
उच्च अदालत विराटनगरको आदेशलाई सदर गर्दै अघिल्लो वर्ष मंसिर १२ गते सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलासले उनलाई थुनामै राखेर पूर्पक्ष गर्न आदेश गरेको थियो । तर, त्यसको ठिक १० दिनपछि सुनसरी जिल्ला अदालतले मंसिर २२ मा अन्तिम फैसला गर्दै उनलाई आरोपबाट सफाइ दिएको थियो ।
टिप्पणीहरू