एमसीसीमा नयाँ सिईओ,नेपालबारे के होला ?
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले नयाँ सिईओ पाएको छ । संयुक्त राज्य अमेरिकाको माथिल्लो सदनले एलिस अल्ब्राइटलाई नयाँ सिइओको रुपमा अनुमोदन गरेको हो ।
एमसीसीले एक विज्ञप्ति जारी गर्दै नयाँ सिईओ पाएको जानकारी दिएको छ । साथै,एमसीसीका कार्यवाहक सिईओ महमुद बाहले अल्ब्राइटलाई बधाइसमेत दिएका छन् । उनले नयाँ सिईओ पाउनुलाई महत्वपूर्ण उपलब्धि भनेका छन् ।
एमसीसीलाई अमेरिकाले एक स्वतन्त्र संस्था भनेको छ । सन् २००४ मा स्थापित यो संस्थाले विभिन्न देशमा निश्चित अवधि र शर्त तोकेर आर्थिक अनुदान र सहायता दिँदै आएको छ । विश्वको गरिबी न्यूनीकरण र आर्थिक बृध्दिका लागि सहयोग गर्ने हेतुले संस्थाले वर्षौंदेखि काम गर्दै आएको भनिएको छ ।
तर, एमसीसी सहयोग परियोजनालाई लिएर कतिपय मुलुकले भने प्रश्न उठाएका छन् । एमसीसीलाई हिन्द–प्रशान्त रणनीतिको अंग बनाएर आर्थिक सहयोगका नाममा गरिब मुलुकलाई अमेरिकी सैन्य छाताभित्र जबर्जस्ती लैजान खोजिएको भन्दै कतिपय मुलुकले सहयोग फिर्ता गरेका छन् ।
नेपालले पनि सन् २०१७ मा एमसीसीसँग सम्झौता गरेको थियो । तर,यसका कतिपय प्रावधान र शर्तहरु नेपालको राष्ट्रिय हित अनुकूल नभएको भन्दै विवाद चर्को रुपमा उठेको छ । जसका कारण लामो समयदेखि सम्झौता प्रतिनिधिसभामा त्यसै अड्किएको छ ।
एमसीसी विवाद बढिरहेकै बेला अमेरिकाले यहि फेब्रुअरीभित्र सम्झौता अनुमोदन गर्न नेपाल सरकारलाई अल्टिमेटम दिएको भनिएका बेला अमेरिकामा नयाँ सिईओ आउनुलाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू