एमसीसीबारे ‘बा’ हिजो यसो भन्नुहुन्थ्यो

एमसीसीबारे ‘बा’ हिजो यसो भन्नुहुन्थ्यो

सरकारमा छँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ( एमसीसी ) जसरी पनि अनुमोदन हुनुपर्ने बताउँदै आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँको दलले विपक्षी कित्तामा पुगेपछि खासै धारणा सार्वजनिक गरेको छैन ।

अहिले सरकारको मुख्य दल र नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता संसदबाट जसरी पनि अनुमोदन गराउने तयारीमा जुटेको देखिन्छ । जनमानसमा चौतर्फी विरोध हुँदाहुँदै पनि सरकारले यसलाई जतिसक्दो छिटो संसदबाट पास गर्नुपर्ने भन्दै अग्रसरता देखाएको छ ।

विपक्षी दलको नेता भएपछि ओलीले एमसीसी पारित गराउन आफ्नो दल आवश्यक नपर्ने बताउँदै आउनुभएको छ । उहाँले एमसीसी सम्बन्धमा आफ्नो र आफ्नो दलको न समर्थन,न विरोध रहेको उल्लेख गर्न थाल्नुभएको छ । तर प्रधानमन्त्री छँदा एमसीसीको विरोध गर्नेहरुलाई उक्त सम्झौता पढ्न अल्छी लागेकाहरुले हचुवाको भरमा विरोध गरेको भनेर सार्वजनिक मञ्चबाटै खिप्नुभएको थियो ।

‘एमसीसीमा अमेरिकी सेना नेपालमा आउने भनेर कहाँ लेखेको छ ? राम्ररी पढ्नु’

दुई वर्षअघि उहाँले राष्ट्रिय सभा बैठकमा बोल्दा एमसीसीको विरोधमा आवाज उठाउनेहरुतर्फ इंगित गर्दै भन्नुभएको थियो, ‘खुट्टा हुँदाहुँदै टाउकाले टेकेर हिँड्न जरुरी छैन ।’ उहाँले ‘एमसीसीमा अमेरिकी सेना नेपालमा आउने भनेर कहाँ लेखेको छ ? राम्ररी पढ्नु’ भनेर सल्लाह दिनुभएको थियो ।

एमसीसीको पक्षमा वकालत गर्दै उहाँले त्यतिबेला, ‘कागले कान लग्यो भनेर पछि पछि कुद्न नहुने बताउँदै सम्झौतामा के लेखेको छ भनेर पढ्न,’ आग्रह गर्नुभएको थियो । उहाँको भनाइ थियो, ‘एमसीसी पास गर्ने पक्षमा बोल्दा विरोधीहरुलाई विकास हुन लाग्यो भनेर चिन्ता लागेको छ ।’

एमसीसी सम्झौतालाई आफूले ठीकै देखेको बताउँदै राष्ट्रिय सभामा ओलीले अढाइ दशक अघिकाे महाकाली सन्धिकाे उदाहरण दिनुभएकाे थियाे । पहिले महाकाली सन्धिमा हस्ताक्षर गर्ने समयमा भारतीय पक्षले ‘अब मे सही करलु’ भनेपछि सबैले हुन्छ भनेको उताकाे क्षणको पनि उहाँले स्मरण गराउनुभएको थियो ।

यति धेरै जानकारी दिनुभएका एमाले अध्यक्ष ओलीले त्यही एमसीसीको बारेमा पछिल्ला दिनमा ‘न हाँसको न कुखुराको चालमा’ कुरा राख्दै आउनुभएको छ । हिजोका दिनमा बोलेका कुरा आज पनि त्यत्तिकै ठीक छन् वा सान्दर्भिक छन् भन्न उहाँलाई के कुराले बाधा पुर्याएको होला ?

टिप्पणीहरू