नबन्दै ढल्यो अस्पतालको पर्खाल

नबन्दै ढल्यो अस्पतालको पर्खाल

जिल्ला अस्पताल खोटाङको स्तरोन्नतीका क्रममा निर्माण थालिएको मेशिनरी पर्खाल बनिनसक्दै भत्किएको छ । १५ शैयाको जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नती गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शैयाको भवन निर्माणको क्रममा निर्माण सुरु गरिएको टेवा पर्खाल बनिनसक्दै भत्किएको हो ।

२०४९ सालमा स्थापना भएको अस्पतालको स्तरोन्नतीका क्रममा ४० मिटर लम्बाइ र २० दशमलब ५ मिटर चौंडाई भएको भवन निर्माण गर्ने सम्झौता छ । निर्माण कम्पनी श्यामसुन्दर/रामसागर नेपाल/फूलबारी जेभीको लापरबाहीका कारण जिल्ला अस्पतालको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इञ्जिनियर रामहृदय पटेलले जानकारी दिएका छन् ।

सम्झौताअनुसार जिल्ला अस्पतालको बिरामी भर्ना गर्ने वार्ड, डेलीभरी वार्ड, शल्यक्रिया कक्ष, इमरजेन्सी वार्डलगायत पूरानो भवन भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको हो । तर भवन बन्ने जग्गाको भित्तामा निर्माण सुरु गरिएको पर्खाल सामान्य वर्षाकै कारण गत माघ २१ गते भत्किएको हो ।

टिप्पणीहरू