आज छ सय बढी संक्रमित, २ जना बिते
गत २४ घण्टामा मुलुकभर छ सय ८० जना कोरोना संक्रमित भेटिएका छन् । सात हजार ९५ जनामा परीक्षण गर्दा उक्त संख्या संक्रमित पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा एक हजार आठ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । मुलुकभर अझै १९ हजार चार जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै दुई सय नौ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा एक सय ७० जना संक्रमित थपिएका हुन् । भक्तपुरमा १५ र ललितपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या चार हजार एक सय ८८ पुगेको छ । भक्तपुरमा एक हजार एक सय १३ र ललितपुरमा दुई हजार छ सय चार जना सक्रिय संक्रमित छन् ।
आज दुई जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय दुई पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये एक सय ११ जना युवायुवती छन् भने ३१ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका १६ जना छन् र ३६ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।
टिप्पणीहरू