लगाउला त आनन्दमोहन श्रीमानमाथि एमालेले अर्को महाअभियोग ?
जनताले न्यायको आशा राख्ने अन्तिम संस्था हो सर्वोच्च अदालत । जनताको अगाध आस्था र विश्वासको जगमा उभिएको यो संस्था यतिबेला चौतर्फी आक्रमणको शिकार बनेको छ । राजनीतिक शक्ति संघर्षको चेपुवामा परेर न्यायमूर्तिहरु नै न्याय खोज्न हिँड्नुपर्ने परिस्थितिले मुलुकको सर्वोच्च न्यायालय संकटग्रस्त छ ।
आइतबार बिहानै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुध्द सत्तापक्षका सांसदहरुले संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरे । लगत्तै त्यसको काउन्टरमा प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधिसभा विघटन बदरको फैसला सुनाउने चार न्यायाधीशमाथि महाभियोग लगाउने समाचार डढेलोझैँ फैलियो ।
वकिलहरुको लामो आन्दोलनले थिल्थिलिएको न्यायालय बौरिन खोज्दै थियो, एकाएक आएको महाभियोग र सम्भावित ‘काउन्टर महाभियोग’ को त्रासले हिजो दिनभर सर्वोच्च अदालत तनावपूर्ण बन्यो ।
सर्वोच्च स्रोतका अनुसार हिजो दिनभरि नै सर्वोच्चमा सन्नाटा छाएको थियो । कुनै पनि न्यायाधीशको अनुहारमा चमक थिएन । चार न्यायाधीशमाथि महाभियोग दर्ताको हल्लाले मनोवैज्ञानिक आतंक नै मच्चिएको त्यहाँका एक कर्मचारीले बताए ।
“च्याम्बर प्रयोग गरेपनि प्रधानन्यायाधीशको कुर्सीमा उहाँ बस्नुभएको थिएन । न्यायाधीशहरुबीच अनौपचारिक चिया गफ चल्दै थियो । स्रोतले बताएअनुसार सबै न्यायाधीशलाई राखेर दिपक श्रीमानले ‘स्थिति के हुन्छ थाहा छैन । हामीले प्राप्त जिम्मेवारीलाई पूरा गर्नुपर्ने दायित्व छ । मलाइ सहयोग गर्नुस्’ भन्दै हुनुहुन्थ्यो त्यतिबेलै एमालेले ६ वटा खालि कागजमा सांसदहरुको हस्ताक्षर जम्मा पारेको खबर बाहिरियो ।”
तनावका बीच दिपक श्रीमान कामु प्रधानन्यायाधीशको हैसियतमा प्रधानन्यायाधीशको च्याम्बरमा पुग्नुभएको थियो । च्याम्बर प्रयोग गरेपनि प्रधानन्यायाधीशको कुर्सीमा उहाँ बस्नुभएको थिएन । न्यायाधीशहरुबीच अनौपचारिक चिया गफ चल्दै थियो ।
स्रोतले बताएअनुसार सबै न्यायाधीशलाई राखेर दिपक श्रीमानले ‘स्थिति के हुन्छ थाहा छैन । हामीले प्राप्त जिम्मेवारीलाई पूरा गर्नुपर्ने दायित्व छ । मलाई सहयोग गर्नुस्’ भन्दै हुनुहुन्थ्यो त्यतिबेलै एमालेले ६ वटा खालि कागजमा सांसदहरुको हस्ताक्षर जम्मा पारेको खबर आयो ।
६ वटा कागजमा हस्ताक्षर गराएको खबर फैलिएपछि सर्वोच्चका कर्मचारीहरुले अनेक अनुमान लगाए । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिने न्यायाधीशहरु दिपक कार्की,मीरा खड्का,डा.आनन्दमोहन भट्टराई र ईश्वर खतिवडामाथि महाभियोग लाग्ने चर्चा अलि पहिलेदेखि नै थियो ।
अर्को कागज सभामुखको लागि हुनसक्ने भए पनि बाँकी एकजनाबारे सोधखोज शुरु हुन थाल्यो । कतिपयले न्यायाधीश हरिकृष्ण कार्की पनि निशानामा पर्ने अनुमान लगाए । कार्की एमाले अध्यक्ष केपी ओली पहिलोचोटी प्रधानमन्त्री हुँदा उहाँको महान्यायाधिवक्ता हुनुहुन्थ्यो । ओलीकै सिफारिसमा उहाँ न्यायाधीश नियुक्त हुनुभएको हो ।
तर, पछिल्लो समय न्यायालय सुधार अभियानको नेतृत्व गरिरहनु भएका कार्की श्रीमान एमाले अध्यक्ष ओलीको इच्छाविपरित चोलेन्द्रको राजीनामा माग्नेमा सबैभन्दा अगाडि हुनुहुन्थ्यो । त्यसैले उहाँ पनि महाभियोगको शिकार बन्न लागेको कतिपयले अनुमान गरे ।
अहिले पनि सर्वोच्चमा सहज वातावरण बनिसकेको छैन । टाउकामा तरबार झुन्ड्याएर न्यायमूर्तिहरु न्यायको कुर्सीमा बस्नुपर्ने अवस्था ज्यूँकात्यूँ छ । ‘न्यायाधीशहरुले न्यायाधीश हुँ भनेर गर्व गर्ने स्थिति छैन । संस्था डामाडोल भयो भन्ने चिन्ता छ’, न्यायाधीशहरुको मनोदशा नजिकबाट बुझेका ती कर्मचारीले भने ।
मुध्दाको फैसला चित्त नबुझेपनि न्यायाधीशमाथि प्रश्नसमेत उठाउन पाइँदैन । तर, अमूक कुनै फैसलालाई लिएर न्यायाधीशहरुमाथि महाभियोग लगाउँदै जाने हो भने को बाँकी रहला र ! स्वतन्त्र न्यायपालिकाको अस्तित्व कसरी जोगिएला ?
यसैबीच शुक्रबार फुलकोर्टको बैठक बोलाइएको छ । पारिवारिक बिहेवारीका कारणले हिजोको छलफलमा छुट्नुभएका न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र बुटवलबाट तेजबहादुर केसी पनि फुलकोर्टमा आउने बताइएको छ ।
यता,एमालेले चारै जनालाई महाभियोग प्रस्ताव दर्ता गरे आनन्दमोहन श्रीमानलाई दोस्रो पटक महाभियोग लाग्छ । यसअघि उहाँविरुध्द लोकमान सिंह कार्की प्रकरणमा संविधानसभा सदस्य विश्वेन्द्र पासवान,रुक्मिणी चौधरीहरुले संसदमा महाभियोगको सूचना दर्ता गराएका थिए ।
संसदले संविधानसभा सदस्य रामनारायण बिडारीको नेतृत्वमा उपसमिति बनाएर छानविन गरेको थियो । उपसमितिले बुझाएको प्रतिवेदनमा बिना प्रमाण महाभियोगको सूचना दर्ता गराएको भन्दै सांसदहरुलाई आइन्दा यस्तो गतिविधि नगर्न निर्देशन दिइएको थियो ।
टिप्पणीहरू