यस्तो छ एमसिसी पास गर्ने प्रक्रिया र योजना

यस्तो छ एमसिसी पास गर्ने प्रक्रिया र योजना

एमसिसी पास गर्ने प्रयोजनार्थ प्रतिनिधिसभाको आजका लागि डाकिएको बैठकको कार्यसूचीमा उक्त विषय राखिएको छैन । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित तीन वटा कार्यसूचीमा लक्ष्मीदास मानन्धर, जगतबहादुर ताजपुरिया र डा. दुमनसिंह थापाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसम्म देखाइएको छ ।

कृष्णबहादुर महरा सभामुख हुँदा एमालेले संसद्मा दर्ता गराएको थियो एमसिसी । पछि त्यही लफडामा परेर उनको पद गयो । अब फेरि एमसिसी संसद्मा टेबल हुने दिशातिरै अगाडि बढिसकेको छ । टेबल भइसकेपछि त्यसका तीनवटा चरण हुन्छन्, पास हुनका लागि ।

एउटा बैठकले टेबल गर्छ, अर्काे बैठकमा यसबारे विचार गरियोस् भन्ने प्रस्ताव राखिन्छ, यस्तो सम्झौतामा संशोधन भने हालिन्न । तेस्रो बैठकमा उपस्थित सांसदको बहुमतले पारित हुन्छ । अहिले प्रतिनिधिसभामा २७१ सांसद छन् । त्यसको एक चौथाइ अर्थात् ६८ सांसदले उपस्थित भएर हुन्छ भन्ने ध्वनिमत दिए एमसिसी पारित हुन्छ । संघीय संसद्मा कांग्रेसको ६१ मत छ । २३ सांसद उपेन्द्र यादवहरूसँग छ । बाबुराम भट्टराईले एमसिसीकै पक्षमा भोट दिने भनिसकेका छन् । महन्थ ठाकुरहरू पनि एमसिसीकै पक्षमा छन् । कांग्रेसलाई जसपा र महन्थ ठाकुरका पार्टीबाट केही सांसदको साथ भए एमसिसी पास गर्न पुग्छ । माओवादी र समाजवादीले मतदानमा भाग लिन्नन् ।

एमालेले सभामुखविरुद्ध नाराबाजी गरिरहन्छ । पक्ष विपक्षमा मत हाल्दैन । तीनथरी कम्युनिष्टले विपक्षमा मत नहाल्नु भनेको एमसिसी पास गर्न अप्रत्यक्ष साथ दिनु नै हो । मत विभाजन ध्वनिमतबाट गर्ने हो । हुन्छ-हुन्नमै बहुमत खोजिने हो । एमसिसी यसरी पास हुँदा अदालतमा मुद्दा पर्ने सम्भावना पनि रहँदैन । मुद्दा गए सिधै दरपिठ हुन्छ कारण हाउसको निर्णयउपर अदालतमा प्रश्न उठाउनै पाइँदैन । त्यसकारण अमेरिकाले दिएको समयसीमाभित्र एमसिसी दर्ता भई हप्ता दिनभित्र अनुमोदन गर्ने सम्भावना प्रबल बन्दै गएको छ ।

टिप्पणीहरू