यस्ता अनेक भद्रगोलमा मिडिया कति जिम्मेवार ?
– गोविन्द भट्टराई
चीन र अमेरिकाको चेपुवामा परेको नेपालका राजनेता पछिल्लो समय देश र नागरिकको हितभन्दा पराइको स्वार्थका लागि आपसमा पौंठेजोरी खेल्दै छन् । नेताका इशारामा निर्देशित ३ अंग दिग्भ्रमित हुने नै भए, चौथो अंग भनिएको प्रेस पनि गैरपत्रकारको चंगुलमा फसेको आरोप छ ।
ओलीसँग एक हुँदा क्रान्तिकारी, एमालेबाट चोइटिएर समाजवादी न्वारान हुनासाथ आफू एमालेमै रहेको बखत गरिएका कामकाजसमेत राष्ट्रघाती रहेको घोषणा गर्नसक्ने दूरदृष्टि (?) भएका कमरेडहरूको तर्कवितर्क अचम्मलाग्दो छ ।
सत्तामा रहनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर लिखित वचनबद्धता जनाउने कमरेड प्रचण्डको पार्टीले एमसिसी मौजुदा अवस्थामा मरिगए पास नगर्ने अडान लिनु कुनचाहिँ अग्रगामी राष्ट्रवाद हो ? एमसिसीबारे जमेर संसद्मा बहस गर्न नहुने किन ? पास वा फेल जे गर्नु छ सार्वभौम संसद्बाट गराए हुन्न ? अरुबेला कराउने चित्रबहादुर केसी, नारायणमान बिजुक्छेहरू के हेर्दै छन् ?
नेपाली मिडियाले मरेको बाघको जुँगा उखेल्ने गरेको चर्चा बेलाबखत सुनिन्छ । पाल्पाका विभिन्न खानीलगायत देशका अन्य भागबाट समेत मापदण्डविपरीत चुनढुंगा उत्खनन गरेको, करोडौँ रुपैयाँ राजश्व छलेको कुरालाई मिडियाले निकै हाइलाइट गरेका छन् ।
एकै हप्ता वा महिनामा होइन केही वर्ष भयो खानीका नाममा सेटिङ मिलाएर दोहन हुने गरेको, तलदेखि माथिकासम्म मिलेर लुटेको कुरा थाहा नपाएझँै गरे मिडियाले र छानबिन आयोगको हवाला दिँदै यतिबेला कोभन्दा को सशक्त भन्ने होडबाजी शुरु भएको छ ।
एकैछिन, एकैदिन वा केही दिनमा होइन मिलाएर दोहन गरिएको कुरा बेवास्ता गर्नुलाई बहादुरी किन ठानियो, अहिले किन कोकोहोलो ? नागरिकले अचम्म मान्ने सवाल भएको छ ।
अरु देशका कुरा छाडौँ, बिहारीले समेत परराष्ट्र मामलामा एकमत भएर सामना गर्छन् तर हाम्रा दल र नेता आपसमा गलफत्ती गर्छन्, भारत, चीन वा अमेरिका कसको पछि लाग्दा चाखिलो बनिन्छ साथै कता टाँसिँदा आर्थिक रूपमा फाइदा हुन्छ भनेर, राष्ट्रियता अनि नागरिकप्रतिको जवाफदेहिता बिर्सन्छन् ।
बिआरआई होस् वा एमसिसी–नेपाल र नेपालीको हितमा छ, छैन नागरिकबाट चुनिएका जनप्रतिनिधिको थलो संसद्मा विषय प्रवेश गराएर मात्र पुग्दैन निर्बिघ्न बहस गरिनुपर्छ ।
त्यो आँट र हिम्मत देउवा, ओली, प्रचण्ड, माधवमा हुनुपर्छ । नत्रभने किन राष्ट्रियताको भाषण छाँट्ने ? अनि संसारकै उत्कृष्ट हामी भनेर दाबी गर्ने नेपाली मिडियाका ज्यामी मालिक भक्तिमा रमाएर कहिलेसम्म मौन बस्ने ? राष्ट्र र राष्ट्रियता चिन्न नसक्ने कठै हामी नेपाली !
टिप्पणीहरू