धन हुनेसङ्ग अलिकति मन भए पुग्छ
रेस्क्यु क्रिएसन प्रा. लि. का प्रबन्ध निर्देशक तथा म्युजिक भिडियो निर्देशक समन अधिकारीले आफूले अक्षराम्भ गरेको विद्यालयलाई शैक्षिक सहयोग गरेका छन् ।
आफूले पढ्न थालेको झापाको कमल गाउँपालिका-२ क्याम्पाबजारस्थित कमला मदनआश्रित स्मृति मा. वि. का ३१ जना विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका २४ जना एनसीसी क्याडेट्स विद्यार्थीहरू र ७ जना अन्य छात्रछात्रा गरी जम्मा ३१ जनालाई ट्र्याक सुटहरू वितरण गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका वीच व्यक्तिगततर्फबाट २७ हजार ३ सय ५० मूल्य बराबरको ट्र्याक सुटहरू वितरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सूर्यप्रसाद न्यौपानेले विद्यालयका पूर्वविद्यार्थी अधिकारीले विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहनको निम्ति पोशाक दिएकोमा आभार प्रकट गरेका थिए ।
कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले आफूले अक्षराम्भ गरेको विद्यालयमा सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताए । शिक्षाको उज्यालोबाट कुनै पनि बालबालिका वञ्चित हुनु नहुने,यसमा सरकारसहित सरोकारवालाहरुको चासो हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा दाता अधिकारीसहित कला निर्देशक सागर लिम्बू, कलाकार सेजल ढकाल,कमल सांस्कृतिक मञ्चका अध्यक्ष कैलाश थापा मगर,सचिव विजयकुमार अधिकारी,कार्यक्रम आयोजक विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहाल,शिक्षकहरू, कर्मचारीहरू तथा विद्यार्थीहरू लगायतको उपस्थित थियो ।

टिप्पणीहरू