रहश्यमय दलहरु “भूमिगत”,तीन नयाँको आज न्वारन
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै निर्वाचन आयोगमा दल दर्ताको क्रम बढेको छ । आयोगले दल दर्ता खुला गरेको पहिलो दिन आजै तीन वटा नयाँ दल दर्ता भएका छन् ।
‘जनता प्रगतिशील पार्टी’, ‘सामाजिक एकता पार्टी’ र ‘नागरिक उन्मुक्ति पार्टी’ गरी तीन वटा नयाँ राजनीतिक दल दर्ता गरिएको आयोगले बताएको छ । योसँगै हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ ।
सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुने घोषणा गरिसकेको छ । सोहीअनुसार आयोगले अहिले तयारी गरिरहेको छ । आजबाट दल दर्ता खुला गरेको आयोगले फागुन १५ गतेसम्मको समय दिएको छ ।
“नेकपामा अल्पमतमा परेपछि केपी ओलीले महेश बस्नेतमार्फत दर्ता गराएको ‘एमाले’ अहिले जनताको जनवादी पार्टीमा परिणत भएको छ । सन्ध्या तिवारी अध्यक्ष रहेको सो पार्टी माओवादी र एमाले ब्युँतिएपछि जनताको जनवादी पार्टीका नाममा दर्ता गरिएको हो ।”
एक सयभन्दा बढी दल आयोगमा दर्ता भैसकेका छन् भने नयाँ दर्ताको क्रम पनि जारी छ । तर,राष्ट्रिय राजनीतिमा प्रभावका हिसाबले भने एक दर्जन दल मात्रै क्रियाशील छन् । विभिन्न कारण र परिस्थितिले दल दर्ता गराउने तर,चुनावमा भाग नलिने पार्टीहरु पनि छन् ।
तत्कालीन नेकपामा अल्पमतमा परेपछि केपी ओलीले महेश बस्नेतमार्फत दर्ता गराएको ‘एमाले’ अहिले जनताको जनवादी पार्टीमा परिणत भएको छ । सन्ध्या तिवारी अध्यक्ष रहेको सो पार्टी माओवादी र एमाले ब्युँतिएपछि जनताको जनवादी पार्टीका नाममा दर्ता गरिएको हो ।
यता, प्रचण्डको माओवादी केन्द्र फर्किएपछि गोपाल किराँतीले अर्को पार्टी दर्ता गराएका थिए । अहिले उनलाई सो पार्टीबाट लखेटेर अरुले नै कब्जा गरेका छन् । कमल थापाले अलपत्र पारेर हिँडेपछि लाक्पा तामाङले सम्हालेको राप्रपा नेपाल अहिले फेरि थापाकै हातमा पुगेको छ । त्यस्तै,एमाले विवाद उत्कर्षमा पुगेपछि माधव नेपालले जीवन राईका नाममा दर्ता गराएको पार्टी पनि अब निरर्थक भएको छ ।
ती दलहरु जुन प्रयोजनका लागि दर्ता गरिएका थिए, त्यसको उपादेयता सकिएकाले उनीहरु निर्वाचनमा सहभागी हुने सम्भावना कम रहेको बताइन्छ । आयोगले भने अहिले पनि उनीहरुले बार्षिक विवरण बुझाइरहेकाले दल दर्ता अध्यावधिक रहेको बताएको छ ।
टिप्पणीहरू