बालुवाटारबाट नेताहरु उठे, गठबन्धन नतोड्ने सहमति
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको दुई घण्टा लामो बैठक बिना निष्कर्ष टुंगिएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । निर्णायक भनिएको बैठकमा सकारात्मक छलफल भएको तर, सहमति नजुटेपछि भोलि बिहान ९ बजे शीर्ष नेताहरु बस्नेगरी बैठक टुंगिएको हो ।
बालुवाटार स्रोतका अनुसार एमसीसी पनि पास गर्ने र गठबन्धन नतोड्ने गरि सहमतिको साझा बिन्दु खोज्ने प्रयास भैरहेको छ । त्यसका लागि थप छलफल आवश्यक हुने भएकाले केही दिन एमसीसी संसदमा टेवल नगर्न प्रधानमन्त्री सहमत हुनुभएको बुझिएको छ ।
त्यस्तै, माओवादी र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मत हाले पनि सरकार र गठबन्धन भने कायमै राख्ने सहमति बनेको बताइएको छ ।
बैठकमा कांग्रेसको तर्फबाट प्रधामन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की र कृष्ण प्रसाद सिटौला सहभागी थिए ।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता थियो ।
जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ बैठकमा बसेका थिए । पूर्वप्रधानमन्त्री खनाल र अध्यक्ष नेपाल भने बैठकको बिचमै बाहिरिनुभएको थियो ।
प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने अडानमा हुनुहुन्छ । प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा छन् ।
एमसीसीलाई कसरी अगाडी बढाउने भन्ने बारे आजको बैठकले निष्कर्श निकाल्ने विश्वास लिइएको थियो ।
टिप्पणीहरू