प्रधानमन्त्रीद्वारा सेनापतिलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनालाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिनुभएको छ । मुलुकको पछिल्लो अवस्थाबारे सेनाको रिपोर्टिङ सुनेपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।
केहीबेर अघि बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भएको भेटमा उक्त निर्देशन भएको बालुवाटार स्रोतले बताएको छ । नेपाली समाज एमसीसी सम्झौताको विपक्षमा देखिएपछि सम्भावित सुरक्षा प्रबन्धबारे पनि उहाँहरुबीच सँक्षिप्त कुराकानी भएको बुझिएको छ ।
बालुवाटार स्रोतका अनुसार मुलुकको पछिल्लो अवस्थासम्बन्धी सेनाको रिपोर्टिङ सुनेपछि प्रधानमन्त्रीले प्रधानसेनापतिलाई सेनालाई उच्च सतर्कताका साथ स्टाण्डबाई रहन निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीसँग झण्डै २० मीनेट भेटेपछि शर्मा सवा ९ बजे त्यहाँबाट जंगी अड्डातर्फ लाग्नुभएको छ ।
टिप्पणीहरू