पत्रकारलाई प्रहरीले मध्यराती चौकीमा बोलाएपछि…
पत्रकार माधव पौडेललाई एउटा समाचारको विषयमा ललितपुर प्रहरीले रातको समय बोलाएको घटनाप्रति नेकपा एकीकृत समाजवादी पार्टीसम्बद्ध प्रेस संगठनले गम्भीर आपत्ति जनाएको छ । समाचार पुष्टि गर्ने क्रममा गरिएको फोनवार्ताको विषयलाई लिएर ‘शान्ति सुरक्षा भंग’ गरेको जाहेरी लिई महानगरीय प्रहरी परिसर ललितपुरले पौडेललाई प्रहरी कार्यालयमा बोलाएको भन्दै संगठनले आपत्ति जनाएको हो ।
नेपाल फेस डटकमका प्रधान सम्पादक पौडेलले एउटा समाचारको विषयलाई लिएर आकृति रायमाझीसँग मोबाइलमा सम्पर्क गरी प्रतिक्रिया मागेका थिए । तर, रायमाझीले जवाफ दिनुको सट्टा प्रहरीमा ‘शान्ति सुरक्षा भंग’ गरेको उजुरी गरेपछि त्यसैका आधारमा हिजो प्रहरीले पौडेललाई सोधपुछका लागि भन्दै बोलाएको थियो ।
यस्तो क्रियाकलापले समाचार संकलन तथा सम्प्रेषणका सिलसिलामा समाचारसँग सम्बन्धित व्यक्तिको प्रतिक्रिया लिन पाउने पत्रकारको निर्विवाद अधिकार हनन् भएको संगठनको भनाइ छ । आफ्नाबारे उठेको प्रश्नको जवाफ दिनुको सट्टा प्रहरी सेवाको दुरुपयोग गर्दै उजुरी गर्नु अनुचित भएको संगठनको ठहर छ ।
‘प्रहरीले व्यक्तिलाई प्रश्न गरेको नाममा उल्टै पत्रकारलाई सोधपुछका लागि भन्दै रातको समय बोलाउनुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रुपमा लिँदै यस्तो कार्यप्रति संगठन खेद व्यक्त गर्दछ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी गतिविधि बन्द गर्नसमेत अपिल गर्दछ’, महासचिव भुपराज खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य,समाजवादी प्रेस संगठन नेपालका संस्थापक तथा लेखा आयोगका संयोजक पनि हुन् ।
टिप्पणीहरू